गेटा विश्वविद्यालयलाई रणनीतिक योजनामा राख्न सांसद चन्दको प्रस्ताव, सरकार सकारात्मक


काठमाडौं ।

कैलाली क्षेत्र नम्बर ५ का सांसद डा. आनन्द बहादुर चन्दले कैलालीको गेटामा स्थापना हुन लागेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई राष्ट्रिय रणनीतिक योजनामा समेट्दै पर्याप्त बजेट विनियोजन गर्न सरकारसमक्ष औपचारिक प्रस्ताव पेश गरेका छन्। सुदूरपश्चिम प्रदेशका सांसदहरूसँग भएको छलफलका क्रममा उनले ‘नीति प्रस्ताव’ प्रस्तुत गर्दै उक्त विश्वविद्यालयको दीर्घकालीन महत्वबारे प्रकाश पारेका हुन्।

सांसद चन्दका अनुसार गेटामा निर्माणाधीन उक्त विश्वविद्यालयले सुदूरपश्चिम मात्र नभई समग्र देशकै स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ। उनले भने, “यो विश्वविद्यालय सञ्चालनमा आएपछि स्वास्थ्य सेवा पहुँच विस्तार हुनेछ, दक्ष जनशक्ति उत्पादन हुनेछ, वैदेशिक पलायन न्यूनिकरणमा मद्दत पुग्नेछ र क्षेत्रीय अर्थतन्त्र सुदृढ हुनेछ।” उनले विशेषगरी सुदूरपश्चिममा विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावलाई समाधान गर्न यो परियोजना अत्यन्त महत्वपूर्ण रहेको बताए।

उनले सुदूरपश्चिम प्रदेश विगतदेखि विकासका हिसाबले पछि परेको र हालसम्म चिकित्सा शिक्षा अध्ययन/अध्यापन नहुने एकमात्र प्रदेश रहेको उल्लेख गरे। त्यसैले गेटामा विश्वविद्यालय स्थापना हुनु केवल शैक्षिक परियोजना नभई क्षेत्रीय समानता कायम गर्ने महत्वपूर्ण कदम हुने उनको भनाइ छ।

यसैबीच, सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूसँग भएको छलफलमा प्रधानमन्त्री केपी शर्मा ओली ले उक्त प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले गेटा परियोजनालाई प्राथमिकतामा राखेर आवश्यक निर्णय लिन सरकार तयार रहेको संकेत गरे। “गेटाको विषयमा अहिले हस्ताक्षर गर्नुपरे पनि तयार छु, कहिले गरौँ?” भन्ने उनको अभिव्यक्तिले परियोजनाप्रति सरकारको प्रतिबद्धता देखिएको छ।

सांसद चन्दले आफ्नो नीति प्रस्तावमा चारवटा प्राथमिक लगानी क्षेत्र निर्धारण गरेका छन्। पहिलो प्राथमिकतामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय का लागि २ अर्ब ५८ करोड विनियोजन गर्नुपर्ने माग गरिएको छ। दोस्रोमा विकास संस्थाका लागि रु. १० करोड, तेस्रोमा फाप्ला क्रिकेट मैदान निर्माणका लागि ४ अर्ब, र चौथोमा सिकलसेल परीक्षण कार्यक्रमका लागि २ करोड बजेट प्रस्ताव गरिएको छ।

फाप्ला क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने योजना पनि प्रस्तावमा समेटिएको छ, जसले खेलकुद पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै, सिकलसेल परीक्षण कार्यक्रममार्फत सुदूरपश्चिममा स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने लक्ष्य राखिएको छ।

सुदूरपश्चिमका अन्य सांसदहरूले पनि गेटा विश्वविद्यालयको रणनीतिक महत्वबारे एकमत व्यक्त गरेका छन्। उनीहरूले यस परियोजनाले स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, स्वास्थ्य सेवा सुलभ बनाउने र युवाहरूलाई देशमै अवसर उपलब्ध गराउने बताएका छन्। साथै, चिकित्सा शिक्षा अध्ययनका लागि राजधानी वा विदेश जानुपर्ने बाध्यता कम हुने विश्वास व्यक्त गरिएको छ।

विशेषज्ञहरूका अनुसार गेटा विश्वविद्यालय सञ्चालनमा आएपछि सुदूरपश्चिममा मेडिकल शिक्षा, अनुसन्धान तथा उपचार सेवा एकै स्थानमा उपलब्ध हुनेछ। यसले दीर्घकालीन रूपमा क्षेत्रीय असमानता घटाउन मद्दत पुर्‍याउनेछ।

समग्रमा, सांसद डा. आनन्द बहादुर चन्दद्वारा प्रस्तुत नीति प्रस्तावले सुदूरपश्चिमको विकासलाई नयाँ दिशा दिन सक्ने देखिएको छ। अब सरकारको प्राथमिकता र बजेट विनियोजनमा उक्त प्रस्ताव कसरी समेटिन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।