जनताको अपेक्षा अनुसार काम गर्छु : निशा डाँगी

1.13k
Shares

भद्रपुर। 

 झापा क्षेत्र नं. १ बाट निर्वाचित निशा डाँगीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मुलुकको राजनीति र प्रणालीमा बेथिति तथा भ्रष्टाचारको चाङ रहेको अनुभूति भएपछि जागिर खान लोकसेवाको तयारी गरिरहेका बेला चार वर्षअघि निशा डाँगीको विद्रोही युवा मन राजनीतितर्फ डोरियो । 

पत्रकारितामा रुचि राख्ने डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो । अघिल्लो पटकको निर्वाचनमा २५ वर्षको उमेरमा रास्वपाबाट प्रतिनिधि सभामा समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बन्नुभयो । उहाँ उतिबेला प्रतिनिधि सभाको सबैभन्दा कान्छी सदस्य बन्नुभएको थियो । जागिर खाएर व्यक्तिगत जीवन सुधार्ने सोच त्यागेर जनताको सेवक बन्ने उद्देश्यका साथ राजनीतिको चुनौतीपूर्ण बाटोमा लाग्नुभयो ।

 पार्टीले उहाँलाई यस पटक झापाको क्षेत्र नं. १ मा उम्मेदवार बनायो । डाँगीका लागि नेपाली राजनीतिको परम्परागत धार र बुवा तथा हजुरबुवा उमेरका उम्मेदवारको बाहुल्य चिर्दै अगाडि बढ्नु त्यति सहज थिएन । तर, पनि झापा–१ का जनताले उहाँमाथि विश्वास राख्दै मत दिए । ४५ हजार ६८० मतका साथ विजय हासिल गरेपछि २९ वर्षीय डाँगीको दोस्रो संसदीय यात्रा सुरु भएको छ । 

झापामा हात्तीले पु¥याउने क्षतिलगायत समस्याका विषयमा बारम्बार चासो राख्दै समाधानका लागि प्रयास गर्दै आउनुभएको उहाँ भद्रपुर नगरपालिका–२ स्थायी बासिन्दाको रुपमा २०५३ साल मङ्सिर १६ गते बुवा भीमबहादुर र आमा देवीमाया डाँगीको कोखबाट जन्मिनु भएको हो । डाँगीले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारितामा स्नातकोत्तर गर्नुभएको छ । आफ्नो निर्वाचन क्षेत्रको सीमा समस्या, हात्ती आतङ्कलगायतका समस्याबारे उहाँ जानकार  हुनुहुन्छ । उहाँले मतदातासँग पनि बारम्बार एउटै कुरा भन्दै आउनुभएको छ, “हामी काम गर्न आएका हौँ, काम गरेर देखाउँछौँ ।”

उहाँले अघिल्लो कार्यकालमा रास्वपाको सचेतक रहँदा सदनमा युवाका मुद्दा, सुशासन र नीतिगत सुधारका लागि निरन्तर आवाज उठाउँदै आउनुभएको थियो । आफू र पार्टीलाई जनताले गरेको विश्वास तथा प्राप्त मतादेश इमानदार र सुशासनका लागि भएको आफूले बुझेको डाँगी बताउनुहुन्छ । युवा, महिला तथा बालबालिका, असहाय सबै क्षेत्रको समस्या र भावना बुझेकाले पनि यो पटक मतदाताले अपार माया गरेको उहाँको भनाइ छ ।

क्षमता र सक्रियताकै कारण जनताको मन जित्न सफल सांसद डाँगीलाई यसपटकको आमनिर्वाचनको परिणामले थप परिपक्व र जनअनुमोदित नेताका रूपमा स्थापित गरिदिएको छ । युवाहरुको प्रतिनिधि बनेर राजनीतिक क्षितिजमा उदाएकी सांसद डाँगीले यसअघिको प्रतिनिधिसभामा पार्टीको सचेतकको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । पूर्णकालीन राजनीतिमा आउनुभन्दा अघि पाँच वर्षसम्म उहाँ पत्रकारिता क्षेत्रमा क्रियाशील हुनुहुन्थ्यो ।

निर्वाचनताका जनताको घरदैलोमा पुग्दा स्थानीय समस्या, जनचाहना र विकासका प्राथमिकतालाई बुझ्ने तथा समाधानका लागि प्रतिबद्धता व्यक्त गर्ने अवसर प्राप्त गरेको बताउनुहुन्छ । भ्रष्टाचार, नातावाद र ढिलासुस्तीको चर्को आलोचक रहँदै आएकी उहाँ इमानदार बनेर सुशासन कायम गर्न आफूहरूलाई मतादेश प्राप्त भएको बताउनुहुन्छ । अबको यात्रामा जनविश्वास र भरोसालाई खेर जान नदिई । देशको हितमा काम गर्ने बताउनुहुन्छ ।

सांसद डाँगीमा युवा जोश र जाँगरका साथै राजनीतिक अनुभव र परिपक्वतासमेत उत्तिकै रहेको छ । युवा जोश, शैक्षिक निखार र संसदीय अनुभव प्राप्त उहाँबाट झापा–१ का जनताले मात्र होइन, जेनजी आन्दोलनपछि परिवर्तन चाहने सिङ्गो देशका युवाले ठूलो अपेक्षा राखेका छन् ।