इरानले चाँडै सम्झौता नगरे ऊर्जाकेन्द्र र तेलखानी ‘ध्वस्त’ पर्ने ट्रम्पको चेतावनी


काठमाडौँ।

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “चाँडै” कुनै सम्झौता नभए इरानका विद्युत् उत्पादन गर्ने केन्द्र र तेलखानीसहितका संरचनाहरू “ध्वस्त” पारिदिने चेतावनी दिएका छन्। उनले अमेरिकाले इरानको नयाँ सत्तासँग “गम्भीर कुराकानी” गरिरहेको र त्यसबाट इरानमा जारी अमेरिकी सैन्य कारबाही टुङ्ग्याउने सम्भावना रहेको दाबी पनि गरेका छन्।

सामाजिक सञ्जाल ‘ट्रूथ सोशल’मा उनले लेखेका छन्, “अमेरिका एउटा नयाँ र अधिक समझदार सत्तासँग सैन्य कारबाही समाप्त गर्नेबारे गम्भीर छलफलमा छ।”

“निकै प्रगति भएको छ र सम्भवत: सम्झौता हुन्छ तर यदि कुनै कारणले चाँडै हुन सकेन भने र व्यापारका निम्ति तत्काल होर्मुज जलमार्ग खोलिएन भने हामी इरानमा आफ्नो उपस्थितिलाई अहिलेसम्म हामीले सदाशयसहित नछोएका उनीहरूका सबै विद्युत् उत्पादन गर्ने केन्द्रहरू, तेलखानीहरू, खार्ग टापु (र सम्भवत: पानी प्रशोधनकेन्द्रहरू) लाई पूरै ध्वस्त पारिदिन्छौँ।”

यसबीचमा इरान, लेबनन र इजरेलमा नयाँ हमलामा नयाँ हमलाका विवरणहरू आइरहेका छन्। त्यस्तै स्ट्रेट अफ होर्मुजमा पानीजहाजहरूको आवतजावत युद्धपूर्वको तुलनामा निकै कम रहेको बताइएको छ।

यी घटनाक्रमबीच एशियाली बजारमा मङ्गलवार पनि तेलको मूल्य बढेको विवरण आएको छ। अमेरिकी कारोबारको तेलको मूल्य तीन प्रतिशतले बढेर झन्डै १०६ अमेरिकी डलर प्रतिब्यारल पुगेको बताइएको छ।

ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले एउटा प्रेस ब्रीफिङमार्फत् इरान युद्धबारे जानकारी गराएकी छन्।

अमेरिकाले अहिलेसम्म १,००० भन्दा अधिक स्थानलाई निसाना बनाएको र १५० वटाभन्दा धेरै जहाजमा क्षति पुर्‍याउँदै इरानी जलसेनालाई तहसनहस पारेको दाबी गरेकी छन्।

ट्रम्पले इरानी भूमिमा सेना तैनाथ गराउने सम्भावनालाई अस्वीकार नगरे पनि उनले अहिले पनि ट्रम्पको प्राथमिकता कूटनीति नै भएको तर्क गरिन्।

प्रेस सेक्रेटरीले अमेरिका र इरानबीचको वार्ता जारी रहेको र राम्रोसँग चलेको पनि बताइन्।साथै उनले इरानले अमेरिकासँग सम्झौता गर्ने यो “अवसर” गुमाए गम्भीर परिणाम भोग्नुपर्ने” चेतावनी पनि दिइन्।

उता इरानी अधिकारीहरूले भने अमेरिकासँग वार्ता चलिरहेको भन्ने विवरणको फेरि खण्डन गरेका छन्।

विदेशमन्त्रीका प्रवक्ता इस्माइल बाकाईले युद्ध सुरु भएयताको अवधिको चर्चा गर्दै इरानले “यी ३१ दिनमा अमेरिकासँग कुनै कुराकानी नगरेको” दाबी गरेका छन्।

यसअघि इरानी अधिकारीहरूले युद्ध समाप्त गर्न अमेरिकाले अघि सारेको मागलाई “अतिशय र अनुचित” भनेका थिए।

उनीहरूले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यलाई प्रभावित तुल्याउन वार्ताबारे मिथ्या दाबी प्रचारप्रसार गरिने गरेको दाबी गरेका थिए।
यी घटनाक्रमका बीचमा इजरेली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले “युद्ध निश्चित रूपमा आधाभन्दा अघि बढिसकेको” बताएका छन्।

तर, उनले युद्ध समाप्तिको समयसीमा भने तय गर्न नचाहेको बताए। -बीबीसीबाट