ओलीको स्वास्थ्य अवस्था स्थिर, उपचारमा कुनै कसर बाँकी नराख्न स्वास्थ्य मन्त्रीको निर्देशन


काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहता ले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नराख्न निर्देशन दिएकी छन्।

मन्त्री मेहताले मंगलबार अस्पतालका निर्देशक प्राडा सुवासप्रसाद आचार्य लाई टेलिफोनमार्फत सम्पर्क गरी ओलीको स्वास्थ्य अवस्था, भइरहेको परीक्षण तथा आगामी उपचार योजनाबारे जानकारी लिएकी थिइन्।

मन्त्रीको सचिवालयका अनुसार उनले आवश्यक सबै परीक्षण तुरुन्त गर्न, विशेषज्ञ चिकित्सक टोली परिचालन गर्न र बिरामीलाई निरन्तर निगरानीमा राख्न निर्देशन दिएकी हुन्।

मन्त्रीको निर्देशनपछि अस्पतालले कार्डियोलोजी, नेफ्रोलोजी, मेडिसिन, जनरल सर्जरी तथा प्रयोगशाला विभागका विशेषज्ञहरू सम्मिलित उच्चस्तरीय चिकित्सक टोली गठन गरी विस्तृत स्वास्थ्य परीक्षण तथा मूल्यांकन प्रक्रिया अघि बढाएको जनाएको छ। साथै, ओलीको स्वास्थ्य अवस्थाको समग्र विवरण तयार पार्ने काम पनि सुरु गरिएको छ।

अस्पतालका प्रवक्ता कालिप्रसाद रोसायर का अनुसार हाल ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको छ। उनले मुटुको चालको विस्तृत मूल्यांकनका लागि आइतबारदेखि राखिएको हल्टर यन्त्र अझै जडानमै रहेको र ४८ घण्टासम्म निगरानी गरिने जानकारी दिए।

चिकित्सकहरूका अनुसार प्रारम्भिक परीक्षणका क्रममा ओलीको पित्तथैलीमा पत्थरी देखिएको छ। हल्टर परीक्षणको नतिजापछि उक्त पत्थरीको शल्यक्रिया गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गरिने बताइएको छ।

दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका ओली हाल शारीरिक रूपमा कमजोर अवस्थामा रहेको चिकित्सकहरूले बताएका छन्। हालै पितृकर्म सम्पन्न गरेका उनलाई स्वास्थ्य जोखिमका कारण विशेष निगरानीमा राखिएको अस्पताल स्रोतले जनाएको छ।

यसैबीच, जिल्ला अदालत काठमाडौंले पनि ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै प्रभावकारी उपचार व्यवस्था सुनिश्चित गर्न निर्देशनात्मक आदेश जारी गरेको छ। अदालतको आदेशपछि अस्पताल प्रशासन थप सजग भएको बताइएको छ।

ओलीले भने आफ्ना सबै स्वास्थ्य समस्याको उपचार एकैपटक गरिदिन चिकित्सकहरूसँग आग्रह गरेका छन्। तर चिकित्सक टोलीले उनको उमेर, स्वास्थ्य इतिहास र वर्तमान अवस्थालाई ध्यानमा राख्दै चरणबद्ध उपचार प्रक्रिया अपनाउने तयारी गरेको जनाएको छ।

गत भदौ २३ र २४ गते भएको ‘जेन जी आन्दोलन’ सम्बन्धी घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएपछि स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो।

प्रारम्भमा मुटुको चाल अनियमित देखिएपछि भर्ना गरिएका ओलीको थप परीक्षणका क्रममा अन्य स्वास्थ्य समस्या पनि देखिएको अस्पतालले जनाएको छ। हाल उनको स्वास्थ्य अवस्थालाई चिकित्सक टोलीले नजिकबाट निगरानी गरिरहेको छ।