पश्चिमी–स्थानीय वायु सक्रिय: ४ प्रदेशमा चट्याङसहित वर्षा सम्भावना


काठमाडौं । 

हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसका कारण लुम्बिनी र सुदूरपश्चिमसहित विभिन्न प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य स्थानमा मौसम मुख्यतया सफा छ।

आज दिउँसो कोशी र मधेस प्रदेशसहित पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ। केही स्थानमा चट्याङ्ग र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

रातिको समयमा पनि कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुन सक्ने जनाइएको छ। तराई क्षेत्रमा भने मौसम सामान्यतया सफा रहनेछ।