काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गर्दै अर्थतन्त्र सुधारका विषयमा विस्तृत छलफल गरेको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा पुगेको टोलीले नीतिगत स्थिरता, संरचनागत सुधार र निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्न सरकारलाई आग्रह गरेको थियो।
छलफलका क्रममा महासंघले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका सिफारिस कार्यान्वयन गर्ने सरकारी निर्णयलाई सकारात्मक कदमका रूपमा लिँदै त्यसलाई प्रभावकारी रूपमा अघि बढाउन जोड दिएको छ । ढकालले अर्थतन्त्रलाई गतिशील बनाउन स्पष्ट नीति, सुधारमुखी दृष्टिकोण र निजी क्षेत्रको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्नुभयो । साथै, लगानीमैत्री वातावरण निर्माण, कर प्रणालीमा सुधार र निजी क्षेत्रको मनोबल उकास्ने खालका नीतिगत निर्णयको अपेक्षा पनि व्यक्त गर्नुभयो ।
उहाँले आगामी नीति तथा कार्यक्रम र बजेट निजी क्षेत्रमैत्री हुनुपर्ने बताउँदै देशको दीगो आर्थिक विकासका लागि आन्तरिक तथा बाह्य दुवै पुँजी परिचालन आवश्यक रहेको धारणा राखे। सोही क्रममा महासंघको पहलमा करिब १० अर्ब रुपैयाँ पुँजीसहित ‘नेपाल डेभलपमेन्ट कम्पनी’ स्थापना गरेर आन्तरिक लगानी प्रवद्र्धनको प्रयास भइरहेको जानकारी पनि दिए।
त्यस्तै, नेपाल अझै संक्रमणकालीन अवस्थामा रहेको उल्लेख गर्दै छिमेकी बंगलादेशले स्तरोन्नतिको समय सार्न गरेको पहललाई उदाहरणका रूपमा प्रस्तुत गर्दै नेपालले पनि सो विषयमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव महासंघले दिएको छ।
भेटमा अर्थमन्त्री वाग्लेले निजी क्षेत्रबाट आएका सुझावलाई सकारात्मक रूपमा लिएको बताउँदै अर्थतन्त्र सुधारका लागि नीतिगत स्पष्टता, संरचनागत परिवर्तन र प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जनाए। उनले उच्चस्तरीय आयोगका सिफारिसअनुसार पदभार सम्हालेसँगै १५ वटा कानुन खारेज गर्ने प्रक्रिया अघि बढाइएको र १०० दिने कार्यक्रममा सुशासन तथा सेवा प्रवाहलाई सरल बनाउने उपायहरू समेटिएको जानकारी दिए।
अर्थमन्त्री वाग्लेले नेपाललाई अति कम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने समयसीमा सार्ने विषयमा आफू सकारात्मक भए पनि त्यसअघिसम्म आवश्यक आन्तरिक तयारीलाई प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो
महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले राजनीतिक तथा नीतिगत स्थायित्वप्रति अपेक्षा व्यक्त गर्दै राजस्व न्यायाधिकरणजस्ता संस्थाको पुनर्संरचना आवश्यक रहेको बताए। साथै, मध्यपूर्वमा देखिएको संकटले नेपालको अर्थतन्त्रमा पार्न सक्ने प्रभावप्रति सचेत रहन सरकारलाई सुझाव दिए। साथै वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले वैदेशिक नीति निर्माण गर्दा राष्ट्रिय अर्थतन्त्रलाई केन्द्रमा राख्नुपर्नेमा जोड दिएका थिए।











प्रतिक्रिया