नागढुंगा सुरुङमार्ग सञ्चालनको ठेक्का लाग्यो


काठमाडौं ।

बहुप्रतीक्षित नागढुंगा–सिस्नेखोला सुरुङमार्गको सञ्चालन, व्यवस्थापन तथा मर्मतसम्भारका लागि ठेकेदार कम्पनी चयन गरिएको छ। आयोजना कार्यालयले चिनियाँ र नेपाली कम्पनीको संयुक्त उपक्रम ‘युसिन–एआरटी जेभी’लाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।

आयोजनाद्वारा जारी सार्वजनिक सूचनाअनुसार चिनियाँ कम्पनी चोङकिङ युसिन रोड एन्ड ब्रिज डेभलपमेन्ट र नेपाली कम्पनी एआरटी कन्स्ट्रक्सनको संयुक्त प्रस्ताव स्वीकृत गरिएको छ। यो कम्पनीले करिब २.६५ किलोमिटर लामो सुरुङमार्ग आगामी पाँच वर्षसम्म सञ्चालन र मर्मतसम्भार गर्नेछ।

उक्त जेभीले भ्याट तथा अन्य प्रावधानसहित कुल १ अर्ब १० करोड ४० लाख ३७ हजार ८ सय रुपियाँमा ठेक्का हात पारेको छ, जुन सरकारी लागत अनुमानभन्दा झण्डै ४० प्रतिशतले कम हो । सम्झौताअनुसार वार्षिक औसत २२ करोड रुपियाँ खर्चमा सुरुङमार्गको सञ्चालन, प्राविधिक व्यवस्थापन तथा नियमित मर्मतसम्भारको काम सम्पन्न गरिनेछ।यसअघि आयोजना कार्यालयले सन् २०२५ नोभेम्बर २ मा बोलपत्र आह्वान गरेको थियो। प्राप्त प्रस्तावहरूमध्ये सबैभन्दा न्यून दर प्रस्ताव गर्ने कम्पनीलाई आशयपत्र जारी गरिएको हो ।

आयोजनाले छनोट भएको कम्पनीलाई सात दिनभित्र ठेक्का सम्झौता गर्न सम्पर्क गर्न आह्वान गरेको छ। सम्झौता सम्पन्न भएपछि कम्पनीले सुरुङभित्रका उपकरण सञ्चालन, सुरक्षा व्यवस्थापन, ट्राफिक नियन्त्रण तथा नियमित मर्मतसम्भारको जिम्मेवारी सम्हाल्नेछ । नागढुंगा–सिस्नेखोला सुरुङमार्ग नेपालकै पहिलो सडक सुरुङमार्ग हो। यसको सञ्चालनपछि काठमाडौं भित्रिने सवारीसाधनको यात्रा समय घट्ने, इन्धन खपतमा कमी आउने र यातायात व्यवस्थापन थप सहज हुने अपेक्षा गरिएको छ।