काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसिया कप छनोटअन्तर्गत अन्तिम खेलमा आज लाओसविरुद्ध खेल्दैछ । यस खेलका लागि ५ जना नयाँ अनुहार समेटिएको छ । यस खेलका लागि मुख्य स्ट्राइकर अन्जन विष्टलाई भने सामेल गरिएको छैन । यसैगरी दिनेश हेन्जन र गोलकीपर दीप कार्कीलाई पनि किनारा गरिएको छ ।
खेलअघि आयोजित प्रिम्याच कन्फ्रेन्समा नेपाली टोलीका मुख्य प्रशिक्षक गुग्लिएल्मो एरेनाले टोलीमा युवा र अनुभवी खेलाडीको सन्तुलन रहेको बताए ।
उनले युवा खेलाडीलाई अवसर दिनु पनि आफ्नो उद्देश्य रहेको भन्दै बताए– ‘‘हामी युवा र अनुभवी खेलाडीको सन्तुलनसहित लाओस आएका छौं । मेरो लक्ष्य युवा खेलाडीलाई अवसर दिनु हो । त्यसैले ५ खेलाडीलाई पहिलो पटक राष्ट्रिय टोलीमा समावेश गरिएको छ । लाओस राम्रो टोली हो, तर हामी यस खेलका लागि तयार छौं र जितसहित सुखद अन्त्य गर्ने प्रयास गर्नेछौं ।’
एरेनाले यस खेलका लागि सामेल गरेका ५ युवा खेलाडीहरू स्ट्राइकर युवराज खड्का र मिलन राई, मिडफिल्डर पेम्बा दोर्जे लामा र रोमन भुजेल तथा गोलकीपर योगेश धिमाल हुन् । कप्तानमा राष्ट्रिय टोलीका नियमित गोलकीपर किरण चेम्जोङलाई यथावत राखिएको छ ।
चेम्जोङले जित लक्ष्य भन्दै बताए –‘मैदानमा उत्रिएपछि जित निकाल्नु नै हाम्रो प्रमुख लक्ष्य हुन्छ । टोलीले राम्रो तयारी गरेको छ र हामी प्रशिक्षकको रणनीतिअनुसार खेल्नेछौं ।’
यो खेल नेपालको घरेलु मैदानमा हुनुपर्ने थियो । तर, दशरथ रंगशाला एएफसीबाट अयोग्य ठहर भएपछि नेपाली टोलीले लाओसमा खेल्नु पर्ने भएको हो ।
हेड टू हेड
हालसम्म नेपाल र लाओसबीच ६ पटक प्रतिस्पर्धा भएको छ । ती खेलमध्ये नेपालले ४ जितेको छ भने लाओसले एक खेल जितेको छ । एक खेल बराबरीमा सकिएको थियो । लाओसले जितेको सो एक खेल यसै प्रतियोगिताको पहिलो लेगमा आएको नतिजा हो । लाओसले नेपाललाई २–१ ले पराजित गरेको थियो ।
समूह ‘एफ’ मा ५ खेलमा ३ अंक जोडेका दुबै टोली नेपाल र लाओस यसअघि नै एएफसी एसिया कप २०२७ को दौडबाट बाहिरिसकेका छन् । नेपालको ३ अंक पनि मलेसियाविरुद्धको उल्टिएको नतिजामा प्राप्त अंक हो । मलेसियासँग हारेपनि यो खेलमा मलेसियाले ७ जना खेलाडीको नक्कली डकुमेन्ट भेटिएको हुँदा यस खेलमा नेपाललाई ३–० को जितको नतिजा दिइएको थियो ।
२३ सदस्यीय नेपाली टोली
३ गोलकीपर ः किरणकुमार लिम्बू, विशाल सुनार र योगेश धिमाल
८ डिफेन्डरः रोहित चन्द, अभिषेक लिम्बू, सनिस श्रेष्ठ, सुमन श्रेष्ठ, अनन्त तामाङ, सुमित श्रेष्ठ, बिमल पाण्डे, योगेश गुरुङ
८ मिडफिल्डरः रोहन कार्की, कृतिशरत्न छुन्जु, मणिकुमार लामा, मनिष डाँगी, आयुष घलान, पेम्बा दोर्जे लामा, रोमन भुजेल, दीपेश गुरुङ,
४ फरवार्डः जिलेस्पीजंग कार्की, आदित्य शाक्य, युवराज खड्का, मिलन राई











प्रतिक्रिया