
समयको एउटा कालखण्डमा अग्रज कलाकार तथा कलालेखक मनुजबाबु मिश्रको ‘हर्मिताज ग्यालरी’ बौद्धमा शुरु भएको चिनजानले आज स्वयम्भूको एउटा शान्त अपार्टमेन्टमा नयाँ मोड लियो । झन्डै तीन दशकअघि नेपाली सेनाको उच्च पदबाट अवकाश लिनुभएका र नेपाली साहित्यका अथक साधक शंकरविक्रम शाहलाई भेट्न जाँदा मेरो मनमा एउटा सुन्दर पारिवारिक चित्र थियो ।
मैले सोचेको थिएँ– ८५ वर्षको यो उमेरमा उहाँ नाति–नातिनाको कलिलो मुस्कान, छोरा–बुहारीको स्याहार र जीवनसङ्गिनीको साथमा एउटा सुखद ‘रिटायर्ड’ जीवन बिताइरहनुभएको होला । तर, जब म उहाँको दैलोमा पुगेँ, त्यहाँको दृश्यले मेरो अनुमानलाई एकाएक भत्काइदियो ।
त्यो अपार्टमेन्टको शून्यतामा उहाँ एक्लै हुनुहुन्थ्यो । जीवनको लामो यात्रामा साथ हिँडेकी जीवनसङ्गिनीले नफर्किने बाटो रोजेर गइसकिन् । आफ्नो भन्नु एउटै सन्तान, उहाँको हेरचाह र व्यवहारभन्दा टाढा आफ्नै संसारमा सीमित छ । जीवनभरि सैन्य सेवाको उच्च गरिमा बोकेका र साहित्यिक कृतिका सर्जकको बुढ्यौली यसरी एउटा कोठाको एकान्तमा खुम्चिएको देख्दा मेरो छातीभित्र केही भारी भएर आयो ।
मनमा एउटा नमीठो प्रश्न उब्जियो– के सन्तान, सफलता र सेवाको अन्तिम गन्तव्य यही एक्लोपन हो ?
मैले उहाँको अनुहारमा गुनासो खोजेँ, तर त्यहाँ त एउटा अनौठो शान्ति र दृढता पो रहेछ । मेरो मनको छटपटी बुझेरै होला, उहाँले मुसुक्क हाँस्दै भन्नुभयो– ‘भाइ, आखिर एक्लै जन्मेको हो, एक्लै बाँच्ने हो । भगवानले कुन दिन बोलाउँछन्, यो सबै छोडेर जानै पर्छ ।’
ती शब्दहरूले मेरो मुटु निकैबेर कम्पित भयो । उमेरले थकित वयोवृद्ध शरीर, तर हिमालजस्तै अटल आत्मविश्वास ! भान्साको एउटा सामान्य कामसमेत नआउने मानिस यो उमेरमा कसरी यसरी मुस्कुराएर एक्लै बाँच्न सक्छ ? उहाँको त्यो दरो मुटु देख्दा म अवाक् भएँ ।
दिनभरि अक्षरहरूसँग खेल्ने, लेखपढमै समय व्यतीत गर्ने र आफ्नै अतीतका स्मृतिहरूमा रमाउने उहाँको दैनिकी देख्दा मलाई लाग्यो– उहाँ एक्लो हुनुहुन्छ, तर असहाय हुनुहुन्न ।
‘यो उमेरमा आएर भान्साको काम सिक्नुपर्ने रहेछ भन्ने त लाग्छ, तर अब यो उमेरमा के सिक्नु र ?’ उहाँले ठट्टा गरिरहँदा म भने उहाँको महानता र विवशताको दोसाँधमा उभिएको थिएँ ।
आज उहाँलाई मेरो पुस्तक अर्पण गर्दा मलाई महसुस भयो– पुस्तक त केवल कागजका पाना हुन्, तर शंकर सर आफैँमा एउटा जीवित महाकाव्य हुनुहुन्छ । एउटा यस्तो महाकाव्य, जसमा सैन्य अनुशासनको कठोरता पनि छ र साहित्यको कोमलता पनि ।
स्वयम्भूको त्यो उचाइबाट शहर हेरिरहनुभएका यी ‘सेतो घोडा’ का सवारसँगको भेटले मलाई एउटा गहिरो पाठ सिकाएर पठायो– जीवनका छालहरू जतिसुकै कठोर भए पनि आफ्नो आन्तरिक प्रकाशलाई निभ्न दिनुहुँदैन ।
नेपाली साहित्यमा हाइकू, कविता र संस्मरणका माध्यमबाट आफ्ना भावनाका छालहरू अभिव्यक्त गर्दै आइरहनुभएका स्रष्टा शंकर शाहसँगको यो भेट निकै अर्थपूर्ण रह्यो । उहाँसँगका भेटकोे तस्वीर र त्यो क्षण मेरो लागि सधैँ एउटा ‘इन्द्रेणी तरङ्ग’ बनेर मानसपटलमा रहिरहनेछ ।
उहाँको जीवनमा फर्किएर हेर्दा साहित्यिक यात्रा र सैन्य गौरवको सम्झना जिउँदै छ । एक्लै रहेर पनि मुस्कुराउन सक्ने धैर्य र सन्तोषी मन आफैँमा अनुकरणीय लाग्यो । नेपाली सेनाको उच्च ओहोदाबाट अवकाश प्राप्त गर्नुभएको तीन दशक भइसक्दा पनि उहाँको सिर्जनशीलतामा कुनै कमी आएको छैन ।
मध्याह्नको सपना, आवाज आउँछ कहाँ हो कहाँ, वेदनाका छालहरू, अभिशप्त तारा, इन्द्रेणी तरङ्ग, सेतो घोडा, दोबाटेको च्याखुरा र आइना जो देखाउँछ शीर्षकका उहाँका प्रकाशित कृतिहरू हुन् । यी कृतिहरूले उहाँको दार्शनिक र साहित्यिक उचाइलाई दर्शाउँछन् । ‘बगर सम्मान’ र ‘दायित्व सम्मान’ जस्ता गरिमामय पुरस्कारबाट सम्मानित व्यक्तित्वको अगाडि उभिएर
मेरो आफ्नो पुस्तक अर्पण गर्न पाउनु पक्कै पनि एउटा गौरवशाली क्षण हो ।हर्मिताज ग्यालरीको त्यो विस्मृत क्षणतिर उहाँले मलाई पु¥याउनुभयो । भेटका क्रममा एउटा यस्तो प्रसङ्ग निस्कियो, जसले समयको पाङ्ग्रालाई पछाडि फर्काइदियो । जब उहाँले मुस्कुराउँदै सोध्नुभयो– ‘हाम्रो पहिलो भेट कहाँ भएको थियो, याद छ ?’
विस्मृतिमा हराइसकेको त्यो क्षणलाई उहाँले ज्युँदो बनाइदिनुभयो । महान् कलाकार मनुजबाबु मिश्रको ‘हर्मिताज ग्यालरी’ मा मिश्र सरले नै प्रशंसासहित गराउनुभएको त्यो चिनजान ! आज वर्षौंपछि हाँस्दै मिश्र सरको स्टुडियोका ती दिनहरू सम्झँदा माहोल निकै भावुक र ‘नोस्टाल्जिक’ बन्यो । साहित्य र कलाले मानिसलाई समयको सीमाभन्दा बाहिर जोडेर राख्छ, ठ्याक्कै यो भेटजस्तै । दुःखमा पनि खुशीले बाँच्न सकेका यस्ता लेखक मार्गदर्शक पनि हुन् भन्ने सोच्दै उहाँका कृति–कोसेली बोकेर म फर्किएँ ।











प्रतिक्रिया