आयुर्वेदिक उपचारप्रति बढ्दो आकर्षण

564
Shares

मुगु । आयुर्वेद औषधालयमा उपचारका लागि आउने बिरामीको संख्या उल्लेख्यरूपमा बढेको छ । सदरमुकाम गमगढी बजारमा सञ्चालित औषधालयमा तीन वर्षयता आकर्षण तीव्ररूपमा बढ्दै गएको देखिएको छ । जिल्ला अस्पताल ठिनीनजिकै आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना भएपछि यहाँबाट पाइने सेवा–सुविधाबारे स्थानीय नागरिकले जानकारी पाउन थालेका छन् । त्यसपछि आयुर्वेद उपचार गराउन आउने तथा औषधि लिने बिरामीको संख्या दिनप्रतिदिन बढ्दै छ ।

केन्द्रका सूचना अधिकारी लक्ष्मीप्रसाद पाण्डेका अनुसार यहाँ विशेष गरी दीर्घरोगी र ज्येष्ठ नागरिकले बढी सेवा लिने गरेका छन् । ग्यास्ट्रिक, पेट दुख्ने, खाना नपच्ने, दम, बाथरोग तथा जोर्नीसम्बन्धी समस्याका बिरामी बढी आउने गरेका छन् । पहिले आयुर्वेद औषधिप्रति विश्वास कम गर्नेहरू पनि अहिले भने उपचारका लागि आउन थालेका छन् । उनका अनुसार केन्द्रमा आउने बिरामीमध्ये अधिकांश पेटसम्बन्धी समस्याबाट पीडित हुने गरेका छन् ।

गत आर्थिक वर्ष २०८१÷८२ मा मुगु आयुर्वेद स्वास्थ्य केन्द्रबाट १५ हजार ९ सय ४६ जनाले विभिन्न सेवा लिएका थिए भने चालू आर्थिक वर्ष २०८२÷८३ को फागुनसम्म आठ महिनामा ९ हजार ४ सय ५१ जनाले सेवा लिइसकेका छन् ।

केन्द्रमा पायल्स रोगका बिरामीका लागि क्षारसूत्र विधिबाट शल्यक्रिया सेवा उपलब्ध छ । स्वास्थ्य विभागबाट सिफारिस गरिएका ९५ प्रकारका औषधिमध्ये २३ प्रकारका औषधि निःशुल्क वितरण भइरहेको छ । यसका साथै अक्युपञ्चर उपचार, श्वासप्रश्वास, रक्तचाप, महिलाको महिनावारी समस्या तथा सेतोपानी बग्नेसम्बन्धी उपचारका लागि दैनिक २० देखि ३० जना बिरामी आउने गरेका छन् ।

कार्यालय प्रमुख डा. रुपेश सोनामका अनुसार केन्द्रले ल्याबसम्बन्धी सबै सेवा निःशुल्क गरेको छ । प्रत्येक आइतबार बिहान ८ बजेदेखि नियमित सेवा सञ्चालन हुने व्यवस्था गरिएको छ । साथै स्थानीय स्तरमा पाइने जडीबुटीको प्रयोगबाट विभिन्न रोगहरूको उपचारबारे पनि जनचेतना फैलाउने काम भइरहेको छ । आयुर्वेद तथा योग शिक्षा, जडीबुटी परिचय, स्वस्थ जीवनशैलीसम्बन्धी कार्यक्रम सञ्चालन गर्न थालेपछि उपचारप्रति नागरिकको आकर्षण थप बढेको उनले बताए ।