काठमाडौं ।
महिला उद्यमशीलता प्रवद्र्धनमा मिडियाको भूमिकाबारे सञ्चारिका समूह नेपालले सोमवार काठमाडौंमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा मूलधारका सञ्चारमाध्यमले महिला उद्यमीका विषयलाई कति प्राथमिकता दिएका छन् भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो ।
छलफलमा सहभागी सम्पादक, नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी तथा पत्रकारहरूले महिलाका साना–साना उद्यमका कथा पनि सकारात्मक ढंगले मिडियामा प्रस्तुत गर्नुपर्नेमा जोड दिएका थिए । सञ्चारिका समूहले जीआईजेड नेपालको सहयोगमा देशभरका महिला उद्यमीहरूको संघर्ष र सफलताका कथामा आधारित २१ वटा ‘उद्यमी महिला’ शीर्षकका फेलोसिप स्टोरीहरू प्रकाशन गरेको जानकारी दिइयो ।
कार्यक्रममा बाह्रखरीका सम्पादक हरिबहादुर थापाले राजनीतिक विषयले मात्र प्राथमिकता पाइरहेको वर्तमान अवस्थामा महिला उद्यमीका प्रेरणादायी कथालाई मूल धारमा ल्याउनु सकारात्मक कदम भएको बताउनुभयो । उहाँले साना भए पनि प्रेरणादायी विषयहरू उजागर गर्दा अन्य महिलालाई उद्यमशीलतामा लाग्न हौसला मिल्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा महिला उद्यमी श्याम वदन श्रेष्ठले आफ्नो अनुभव सुनाउँदै महिला उद्यमीहरूले परिवारको जिम्मेवारीसँगै बचत समय प्रयोग गरेर व्यवसाय गरिरहेको भए पनि मिडियाले पर्याप्त स्थान नदिएको गुनासो गर्नुभयो । उहाँले मिडियाबाट हौसला र बजार प्रवद्र्धनमा सहयोग आवश्यक रहेको बताउनुभयो ।
मानवअधिकारकर्मी चरण प्रसाईंले महिला उद्यमसँग सम्बन्धित विषयलाई मानवअधिकारको दृष्टिकोणबाट उठान गर्नुपर्ने बताउनुभयो ।सञ्चारिका समूहकी सल्लाहकार तथा पूर्वअध्यक्ष बबिता बस्नेतले डिजिटल माध्यममार्फत महिला उद्यमको प्रचार–प्रसारलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । अधिवक्ता पुनदेवी महर्जनले सफलताका कथासँगै कानुनी पक्षलाई पनि मजबुत बनाउन मिडियाले ध्यान दिनुपर्ने बताउनुभयो ।
जीआईजेड नेपालकी कम्पोनेन्ट म्यानेजर बिनिजा नेपालले महिला उद्यमशीलता प्रवद्र्धनमा मिडिया र विभिन्न निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा प्रस्तुत गरिएको ६ महिनाको अध्ययन प्रतिवेदनअनुसार विभिन्न प्रदेशमा महिलासम्बन्धी समाचारका विषय फरक–फरक रहेका छन् । सुदूरपश्चिम र कर्णाली प्रदेशमा छाउपडी र स्वास्थ्यसम्बन्धी विषय बढी उठाइएका छन् भने अन्य प्रदेशमा उद्यमशीलता, डिजिटल व्यवसाय र राजनीतिक सहभागितासम्बन्धी समाचारलाई प्राथमिकता दिइएको पाइएको छ ।
सञ्चारिका समूह नेपालकी अध्यक्ष कमला पन्थीले अझै पनि सञ्चार माध्यममा महिलाका सफलताभन्दा हिंसा, बलात्कार र आरोपजस्ता नकारात्मक विषयलाई बढी प्राथमिकता दिइएको बताउनुभयो ।कार्यक्रममा २१ जना फेलो, सम्पादक, मेन्टर, नागरिक समाजका प्रतिनिधि, अधिवक्ता तथा महिला उद्यमीहरूको सहभागिता रहेको थियो ।











प्रतिक्रिया