३० हजार घुससहित प्राविधिक सहायक चौधरी पक्राउ


काठमाडौँ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, बबरमहलमा कार्यरत प्राविधिक सहायक सन्जय चौधरी घुस लिएको आरोपमा पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उद्योग नवीकरणका लागि सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको हो। चौधरीलाई सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा विभागकै परिसरबाट पक्राउ गरिएको आयोगले जनाएको छ।

पक्राउका क्रममा घुस रकमसहित दुई थान मोबाइल पनि बरामद गरिएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।