बैतेश्वरका अध्यक्ष भन्छन्– सेवाग्राही खुसी छन्

0
Shares

दोलखा।

दोलखाको बैतेश्वर गाउँपालिकाले आर्थिक बर्ष २०८२-०८३ को फागुन मसान्तसम्म भएका गतिविधिबारे सार्वजनिक सुनवाई सम्पन्न गरेको छ । सार्वजनिक सुनवाईको क्रममा गरिएको सर्वेक्षणमा पालिकाको सेवा– सुविधा, भौतिक पूर्वाधार, जनप्रतिनिधिको भूमिका लगायतको विषयमा धेरै सेवाग्राहीहरु ले सकारात्मक जवाफ दिएका थिए ।

सार्वजनिक सुनवाई कार्यक्रममा पालिका अध्यक्ष छवि लामाले पालिकाले सेवाग्राही नागरिकको आवश्यकता, सुझाब र सल्लाह अनुसारनै विकास– निर्माण, सामाजिक सुरक्षा एवम् दैनिक सेवा प्रवाह गरिरहेकोले आफूहरुले विरोध तथा गुनासाहरुको सामना गर्न नपरेको बताए । पालिकाको काममा अधिकांश सेवाग्राही खुसी रहेको अध्यक्ष लामाको भनाई छ ।

पालिका अध्यक्ष लामाले बैतेश्वर गाउँपालिकामा भौतिक पूर्वाधारको कामलाई मुख्य प्राथामिकतामा राखिएको र पालिकाको हरेक वडा तथा टोलमा पक्कि सडक निर्माण गरिएको बताए ।

उपाध्यक्ष कल्पना उप्रेतीले पालिकाले धेरै राम्रा काम गरिरहेको भएपनि आफूहरुको साईवर सेना नभएकोले कामको प्रचार हुन नसकेको गुनासो गरिन । उनले पाकलिका भित्र धेरै काम भएपनि प्रचार गर्न नसक्दा सुझाब भन्दा आरोप र गुनासो धेर सुन्नु परेको बताईन । 

पालिका अध्यक्ष छवि लामाको सभापतित्वमा सम्पन्न सार्वजनिक सुनवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत महेश पौडेलले पालिकामा आर्थिक बर्ष ०८२-०८३ को फागुन मसान्तसम्म बिभिन्न क्षेत्रमा भएका कामको विवरण प्रस्तुत गरेका थिए । 

कार्यक्रममा वडा नम्बर– २ का वडा अध्यक्ष एवं  पालिका प्रवक्ता श्याम कुमार घिसिङ, वडा नम्बर– ३ का वडा अध्यक्ष कमल अधिकारी, वडा नम्बर– ४ का वडा अध्यक्ष कुमार चौलागाई, वडा नम्बर– ७ का वडा अध्यक्ष मिन कुमार शिवाकोटी, नेपाली कांग्रेस बैतेश्वर गाउँपालिका समितिका सभापति मनिक तमाङ, पत्रकार महासंघ दोलखाका सचिव सुजन काफ्ले, पत्रकार दिल सागर पौडेल लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

कार्यक्रमको सहजिकरण पत्रकार चिरञ्जीवी मास्केले गरेका थिए ।