आधुनिकता र मौलिकताको सन्तुलनमै राष्ट्रिय सुरक्षा र विकास

उच्चस्तरीय सेमिनार सम्पन्न


काठमाडौं ।

आधुनिक राज्य व्यवस्था र मौलिकता” विषयक एक दिवसीय उच्चस्तरीय सेमिनार सम्पन्न भएको छ। रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भइरहेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा (Advanced Course on National Security) तालिमअन्तर्गत उक्त सेमिनार आयोजना गरिएको हो।

सोमबार आयोजित सेमिनारको समापन रक्षा सचिव केदारनाथ शर्माले गरेका थिए। कार्यक्रममा बलाधिकृत रथी प्रदिप जंग के.सी.ले उद्घाटन गरेका थिए भने सेमिनार दुई चरणमा सञ्चालन भई विषयविज्ञहरूद्वारा प्रस्तुतीकरण र गहन छलफल गरिएको थियो।

सेमिनारको मूल सन्देश वर्तमान परिवेशमा राष्ट्रिय सुरक्षा र विकासका लागि “आधुनिकता र मौलिकताबीचको सन्तुलन” अत्यन्त आवश्यक रहेकोमा केन्द्रित थियो। सहभागीहरूले पारदर्शिता, विधिवत शासन र उत्तरदायित्वजस्ता आधुनिक मान्यताहरूलाई आत्मसात् गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। साथै, ऐतिहासिक अनुभव, सामाजिक यथार्थ र राष्ट्रिय मनोविज्ञानलाई आधार मानेर बाह्य अभ्यासहरूको यान्त्रिक अनुकरणभन्दा स्वदेशी सन्दर्भअनुकूल रूपान्तरण नै दीर्घकालीन स्थायित्वको आधार बन्न सक्ने साझा निष्कर्ष निकालेका थिए।

कार्यक्रममा विभिन्न मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, नेपाली सेना, अन्य सुरक्षा निकायका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा विभिन्न निकायका शिक्षार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।