पुनः सञ्चालित अज्टेका रङ्गशालामा दर्शकको मृत्यु


लन्डन, एजेन्सी

आगामी जून–जुलाईमा हुने फिफा विश्वकपको तयारीका लागि पुनःनिर्माण गरिएपछि पहिलोपटक सञ्चालनमा आएको मेक्सिकोको प्रतिष्ठित अज्टेका रङ्गशालामा शनिबार भएको मैत्रीपूर्ण खेलका क्रममा एक जना दर्शकको खसेर मृत्यु भएको छ ।

स्थानीय सुरक्षा अधिकारीहरूका अनुसार भिआईपी बक्स क्षेत्रमा रहेका एकजना प्रशंसक दोस्रो तल्लाबाट पहिलो तल्लामा हाम फाल्ने प्रयास गर्दा खसेर मृत्यु भएको जनाएको छ । प्रहरीले ती व्यक्तिलाई तत्काल चिकित्सा सहायता उपलब्ध गराइए पनि बचाउन नसकिएको पुष्टि गरेको हो । त्यस्तै, खेलको पूर्वसन्ध्यामा रङ्गशाला बाहिर हराइरहेका परिवारका सदस्यहरूको खोजी गरिरहेका आमाहरूको समूहले प्रदर्शन समेत गरेका थिए । मेक्सिको सरकारले हालै सार्वजनिक गरेको प्रतिबन्धित क्षेत्रलाई तोड्दै उनीहरूले विरोध जनाएका हुन् । सरकारले देशका १ लाख ३० हजार हराइरहेका मानिसहरूमध्ये एक तिहाइको जीवित संकेत फेला परेको रिपोर्ट सार्वजनिक गरे पनि खोजी समूहहरूले यसलाई बेपत्ता संकटको गम्भीरतालाई कम गर्ने प्रयास भन्दै आलोचना गरेका छन् ।

मेक्सिको र पोर्चुगलको गोलरहित बराबरी

आयोजक मेक्सिको र पोर्चुगलबीच शनिवार भएको उक्त मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुङ्गिएको छ । सन् १९७० र १९८६ को विश्वकप फाइनल आयोजना गरेको यो ऐतिहासिक रङ्गशाला आगामी सन् २०२६ को विश्वकपका लागि मर्मत सम्भार गर्न सन् २०२४ मे देखि बन्द गरिएको थियो । आगामी विश्वकपमा यस रङ्गशालाले उद्घाटन खेलसहित कुल पाँचवटा खेलहरूको आयोजना गर्नेछ ।

मुख्य खेलाडीहरू घाइते भई टोलीबाहिर रहेको अवस्थामा पनि आफ्ना खेलाडीको प्रदर्शनप्रति मेक्सिकोका प्रशिक्षक हाभियर अगुइरेले सन्तोष व्यक्त गरेका छन् । जबकि पोर्चुगलको टोलीमा पनि क्रिस्टियानो रोनाल्डो र राफायल लियो जस्ता स्टार स्ट्राइकरहरूको अभाव खड्किएको थियो।

यस खेलमार्फत मेक्सिकोले आफ्नो स्तर मापन गर्ने अवसर पाएको मिडफिल्डर एरिक सान्चेजले बताएका छन् । अब मेक्सिकोले अर्को मंगलबार सिकागोमा बेल्जियमको सामना गर्नेछ भने पोर्चुगलले एट्लान्टामा संयुक्त राज्य अमेरिकासँग खेल्ने तालिका रहेको छ ।

स्मरणीय छ, मेक्सिकोले जुन ११ मा दक्षिण अफ्रिका विरुद्ध खेल्दै यसै रङ्गशालाबाट विश्वकपको सुरुवात गर्नेछ । पोर्चुगलले भने जुन १७ मा जमैका वा कङ्गो मध्ये एकसँग खेल्दै आफ्नो विश्वकप यात्रा सुरु गर्नेछ ।