काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई स्वास्थ्य समस्या देखिएपछि आइतबार पनि अस्पतालमै राखेर उपचार गरिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भई उपचाररत ओलीको शनिवार राति मुटुको धड्कन असामान्य रूपमा बढेको पाइएपछि चिकित्सकहरूले थप निगरानी आवश्यक ठानेका हुन् । अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार ओलीलाई कम्तीमा २४ घण्टा चिकित्सकीय निगरानीमा राखिनेछ ।
‘उहाँ पहिलेदेखि नै मुटुसम्बन्धी समस्याबाट पीडित हुनुहुन्थ्यो । शनिवार राति अचानक मुटुको धड्कन बढेको पाइयो’, डा. सेढाईंले भन्नुभयो– ‘हाल उहाँको स्वास्थ्य अवस्थालाई स्थिर राख्न आवश्यक उपचार भइरहेको छ र चिकित्सकहरूको निरन्तर निगरानीमा राखिएको छ ।’
अस्पताल स्रोतका अनुसार ओलीको स्वास्थ्य अवस्था अहिले नियन्त्रणमा भए पनि पूर्ण रूपमा जोखिममुक्त नभएकाले सावधानी अपनाइएको छ । चिकित्सकहरूले नियमित परीक्षण र आवश्यक औषधोपचार जारी राखेका छन् । यसैबीच, ओलीको पित्तथैलीमा देखिएको पत्थरीको समस्या पनि बढ्दै गएको बताइएको छ । उक्त समस्याको उपचारबारे के गर्ने भन्ने विषयमा चिकित्सकहरूको टोलीबीच छलफल भइरहेको छ । आवश्यकताअनुसार शल्यक्रिया गर्ने वा अन्य वैकल्पिक उपचार अपनाउने विषयमा निर्णय लिइने अस्पतालले जनाएको छ ।
राजनीतिक पृष्ठभूमिमा ओलीको अस्पताल भर्ना हुनु थप चासोको विषय बनेको छ । गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित छानबिन आयोगले दिएको सिफारिस कार्यान्वयनको क्रममा प्रहरीले ओलीलाई नियन्त्रणमा लिएको थियो । सोही क्रममा स्वास्थ्य परीक्षण गरेर मात्र उहालाई छानबिन सुरु गर्ने निर्णयमा पुगेको सरकारले तत्काल स्वास्थ्य परीक्षण गराउँदा उहाँको पित्त थैलीमा पत्थरी देखिएपछि उपचारका लागि त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो ।











प्रतिक्रिया