–खड्काको विज्ञप्तिले कांग्रेसमा हलचल
–विशेष महाधिवेशनको वैधतामा गम्भीर विवाद, समानान्तर गतिविधि तीव्र – खड्कामाथि कारबाही तयारी, सर्वोच्चमा मुद्दा विचाराधीन
काठमाडौं।
देशकै सबैभन्दा पुरानो लोकतान्त्रिक शक्ति नेपाली कांग्रेस अहिले औपचारिक रूपमा विभाजनको संघारमा पुगेको छ । पार्टीभित्रको आन्तरिक शक्ति संघर्ष अब खुला टकराबमा रूपान्तरित भएको छ, जसले कांग्रेसलाई ‘करिब दुई टुक्रा’ बनाएको राजनीतिक वृत्तमा विश्लेषण हुन थालेको छ ।
विशेष महाधिवेशनमार्फत सभापति बन्नुभएका गगन थापा नेतृत्वको समूह र पूर्वसभापति शेरबहादुर देउवा उहाँका कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा वरिष्ठ नेता शेखर कोइराला समूहबीचको विवाद चरममा पुगेको हो । देउवा, खड्का र कोइराला पक्षले विशेष महाधिवेशनलाई नै अस्वीकार गर्दै आएको छ भने थापा पक्षले आफूलाई वैधानिक नेतृत्वका रूपमा अघि बढाइरहेको छ ।
यो विवादले यति गहिरो रूप लिएको छ कि कार्यवाहक सभापतिको दाबी गर्दै आएका पूर्णबहादुर खड्काले समानान्तर रूपमा निर्णयहरू सार्वजनिक गर्न थाल्नुभएको छ । आइतबार खड्काले कार्यवाहक सभापतिकै हैसियतमा विज्ञप्ति जारी गर्दै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा देशव्यापी आन्दोलनको आह्वान गरेपछि कांग्रेसभित्र हलचल तीव्र बनेको छ ।
विशेष महाधिवेशनबाट नेतृत्व चयन गर्ने प्रक्रियामाथि देउवा पक्षले सुरुदेखि नै प्रश्न उठाउँदै आएको छ । निर्वाचन आयोगसँगको ‘सेटिङ’मार्फत थापा समूहलाई मान्यता दिलाइएको आरोप लगाउँदै खड्काले यस विषयमा सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । जुन अहिले विचाराधीन अवस्थामा छ ।
देउवा पक्षले नियमित महाधिवेशनबाटै नेतृत्व हस्तान्तरण हुनुपर्ने अडान लिँदै आएको छ । तर, थापा–विश्वप्रकाश समूहले उक्त निर्णयलाई बेवास्ता गर्दै आफ्नै पहलमा विशेष महाधिवेशन गरेर नेतृत्व कब्जा गरेको आरोप छ ।
समानान्तर गतिविधि ः पार्टीभित्र ‘डुअल कमान्ड’
दुवै पक्षले आ–आफ्नो ढंगले गतिविधि सञ्चालन गर्न थालेपछि कांग्रेसभित्र ‘डुअल कमान्ड’को अवस्था सिर्जना भएको छ । थापा पक्ष पार्टीको आधिकारिक संरचना सञ्चालनमा छ । देउवा–खड्का–कोइराला पक्ष समानान्तर भेला र निर्णयमार्फत दबाब बढाइरहेको छ । केही दिनअघि मात्रै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरूको छुट्टै भेला बसेको थियो, जसमा देउवा–कोइराला पक्षधर नेताहरूको उल्लेख्य उपस्थिति थियो ।
कारबाहीको तयारी ः थप चर्किने संकेत
थापा नेतृत्वले अब कडा कदम चाल्ने संकेत दिएको छ । खड्काले कार्यवाहक सभापतिको नाममा विज्ञप्ति जारी गरेपछि संस्थापन पक्षले यसलाई अनुशासन उल्लंघन मानेको छ । यसै सन्दर्भमा पार्टीले चैत १८ गते अनुशासन समितिको बैठक बोलाएको छ, जहाँ खड्कालाई क्रियाशील सदस्यतासमेत खारेज गर्ने गरी कारबाहीको तयारी भइरहेको स्रोत बताउँछ ।
राजनीतिक विश्लेषकहरूका अनुसार कांग्रेसभित्रको विवाद अब सामान्य गुटगत संघर्षमा सीमित छैन । वैध नेतृत्वको विवाद, समानान्तर संरचना, कानुनी लडाइँ, कारबाही र प्रतिकारजस्ता सन्दर्भले पार्टीलाई औपचारिक विभाजनतर्फ धकेलेको छ । यदि, तत्काल सहमति खोजिएन भने, नेपाली कांग्रेस इतिहासकै सबैभन्दा ठूलो आन्तरिक संकटमा फस्नेमात्र होइन, राष्ट्रिय राजनीतिमा पनि गम्भीर प्रभाव पार्ने निश्चित देखिएको छ ।











प्रतिक्रिया