कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति


काठमाडौं ।

कांग्रेस नेता दीपक खड्कालाई अदालतले ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ। आइतबार बिहान पक्राउ परेका उनलाई सोही दिन काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरिएको हो।

पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीसमेत रहेका खड्कालाई भदौ २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। आन्दोलनपछि खड्काको घरमा जलेको अवस्थामा ठूलो परिमाणमा रकम फेला परेको थियो।

यस विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विस्तृत अनुसन्धान अघि बढाएको छ। विभागले घटनास्थलबाट जलेका नोटका टुक्रा र खरानी संकलन गरी परीक्षण गरिरहेको जनाएको छ।

उक्त आन्दोलनका क्रममा प्रदर्शनकारीहरूले खड्काको घरमा तोडफोड र आगजनी गरेका थिए। आगजनीपछि नेपाली तथा विदेशी मुद्रा जलेको दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएका थिए।