मध्यपुर थिमीमा ज्येष्ठ नागरिकलाई नि:शुल्क निमोनिया खोप लगाउन सुरु


भक्तपुर। 

मध्यपुर थिमी नगरपालिकाले ज्येष्ठ नागरिकलाई निमोनियाको खोप लगाउन शुरु गरेको छ । शनिवार मध्यपुर थिमि नगरपालिकाको ३० औं स्थापना दिवसको अवसरमा सो खोपको सुरुवात गरेको हो । 

७५ वर्ष माथिको उमेर समूहका ज्येष्ठ नागरिकहरूलाई यो खोप अब नगरपालिकाले नि:शुल्क उपलब्ध गराउने नगरप्रमुख सुरेन्द्र श्रेष्ठले बताए । स्थापना दिवसका अवसरमा आयोजित समारोहमा ९८ वर्षीय लक्ष्मीमाया चक्रधर, ९३ वर्षीय इच्छाराम अधिकारी र ७८ वर्षीय गणेशराम लाछी प्रजापतिलाई निमोनियाको खोप स्वास्थकर्मी अम्बिका प्रजापतिले दिएकी थिइन् । 

खोप लगाएपछि  खोप कार्ड हस्तान्तरण गर्दै नगरप्रमुख श्रेष्ठले ज्येष्ठ नागरिकहरूलाई श्वासप्रश्वास र चिसोका कारण हुनसक्ने निमोनिया रोगबाट बचाउन नगरपालिकाले यही  चैत १८ गतेदेखि नगरका नौवटा वडामा निमोनिया विरुद्धको खोप सेवा प्रदान गर्ने  बताए । 

मध्यपुर थिमी नगरपालिकाको जनस्वास्थ्य शाखाले नगरका एक हजार ज्येष्ठ नागरिकलाई अबको एक वर्षभित्र यो खोप दिने लक्ष्य लिएको जनाएको छ । निकै महङ्गो पर्ने निमोनिया विरुद्धको खोप ७० लाख रुपैयाँ बजेटको टेन्डरबाट खरिद गरेको शाखा प्रमुख श्रीकृष्ण प्रजापतिले जानकारी दिए । 

स्वास्थ्य क्षेत्रमा नेपालमै पहिलोपटक एलोपेथी, होमियोपेथी र आयुर्वेद गरी तीन वटै स्वास्थ्य सेवा दिने पहिलो पालिका मध्यपुर थिमिले नगरका ९ वटै वडामा स्वास्थ्य चौकी र शहरी स्वास्थ्य केन्द्र एवं पालिका स्तरमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालबाट सर्वसुलभ सेवा उपलब्ध गराउँदै आएको छ ।