काठमाडौं ।
भन्सार छली तथा चोरी पैठारी गरी विभिन्न किसिमका फेस क्रिम, चकलेट लगायतका सामान काठमाडौंका विभिन्न स्थानमा भण्डारण गरिएको विशेष सूचनाका आधारमा प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ।
यस क्रममा प्रहरी टोलीले जिल्ला बारा सिम्रौनगढ नगरपालिका–६ घर भई हाल काठमाडौं महानगरपालिका–३१ आलोकनगर बस्ने २३ वर्षीय अमित प्रसाद जयसवाललाई पक्राउ गरेको हो। उनलाई चैत १३ गते आलोकनगरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जयसवालले भन्सार छली गरी ल्याइएका विभिन्न ब्रान्डका फेस क्रिम, चकलेट तथा अन्य सामग्री गोदाममा लुकाइ राखेको अवस्थामा फेला परेको थियो।
बरामद सामानहरूमा FIXDERMA SHADOW SPF 30+ GEL लेखिएको ७१०० थान क्रिम, विभिन्न ब्रान्डका चकलेट (कुल ४४५ थानभन्दा बढी), AMUL चकलेट सिरप, SMOKY POPPING CANDY, Eno Lemon Flavor, Fevikwik लगायतका सामग्री रहेका छन्। साथै, उनको साथबाट एक थान Oppo मोबाइल र कोठाबाट कम्प्युटर डेस्कटप, इन्क, प्रिन्टिङ सामग्री तथा अन्य उपकरण समेत बरामद गरिएको छ।
प्रहरीले बरामद सम्पूर्ण सामानको कुल अनुमानित बजार मूल्य ३८ लाख ६५ हजार ३१० रुपैयाँ रहेको जनाएको छ।
पक्राउ परेका जयसवाललाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ।











प्रतिक्रिया