ऊर्जा क्षेत्रमा आत्मनिर्भरता लक्ष्य मन्त्री विराज भक्त श्रेष्ठद्वारा कार्यसम्पादन सुधारमा जोड


काठमाडौं ।

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालयको समग्र अवस्था, प्रगति, चुनौती तथा आगामी कार्यदिशाबारे उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल गरेका छन्।

मन्त्रालयमा आज आयोजित बैठकमा मन्त्री श्रेष्ठले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिएका थिए। साथै, सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा विशेष जोड दिएका थिए।

ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिँचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादन वृद्धि गर्ने सरकारको लक्ष्य हासिल गर्न स्पष्ट कार्ययोजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको मन्त्री श्रेष्ठको भनाइ थियो।

त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास अपरिहार्य रहेको उल्लेख गर्दै उनले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।

जनताले प्रत्यक्ष रूपमा अनुभूति गर्ने परिणाममुखी कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्न सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले आगामी दिनमा देखिएका चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।