काठमाडौं ।
फिफा विश्वकपका गत दुई संस्करणमा इटालीले खेल्न पाएको थिएन । २०१८ मा रुसमा र २०२२ मा कतारमा भएको विश्वकपमा इटालीको सहभागिता हुन सकेको थिएन । इटाली छनोट चरणबाटै बाहिरिनु पर्दा यी दुई संस्करणमा खेल्न वंचित भएको थियो ।
यसपटक इटाली यो क्रम तोड्ने संभावनामा छ ।
विश्वकप युरोपियन छनोटको प्लेअफमा नर्दन आयरल्यान्डलाई २–० ले हराएपछि इटाली विश्वकप २०२६ मा पुग्न नजिक रहेको हो । अब, इटालीले बोस्निया हर्जगोभिनासँग मंगलबार राति प्लेअफ फाइनल खेल्नेछ । जसमा, जित्यो भने इटालीले अमेरिकाको टिकट काट्नेछ हारेमा फेरि एकपटक फुटबलको महाकुम्भमा सरिक हुन वंचित हुनेछ ।
इटाली चारपटकको विश्व च्याम्पियन टोली हो । इटालीले १९३० को दशकमा दुईपटक विश्वकप उपाधि जितेको थियो । यसपछि सन् १९८२ मा स्पेनमा आयोजित विश्वकपमा इटाली च्याम्पियन बन्यो । यसको २४ वर्षपछि यानि २००६ मा फेरि एकपटक इटालीले उपाधि जित्न सफल भयो ।
२००६ मा फ्रान्सलाई पेनाल्टी शूटआउटमा हराएर उपाधि जितेयता इटालीको फुटबल ओरालो लागेको छ । इटालीले २०१० र २०१४ का विश्वकप खास केही गर्न सकेन । यसपछि भने इटाली कमजोर नै देखियो । जसको कारण इटालीले लगातार दुई विश्वकपमा सहभागिता जनाउन पाएन । त्यसो त २०२० को युरोकपमा भने टोली विजेता बन्न सफल भएको थियो ।











प्रतिक्रिया