
लमजुङ । लमजुङको ऐतिहासिक तथा पर्यटकीय स्थल राइनासकोट क्षेत्रमा लालीगुराँस फुल्न थालेसँगै आन्तरिक पर्यटकको आकर्षण उल्लेख्य रुपमा बढ्न थालेको छ । वनपाखाभरि ढकमक्क फुलेका गुराँसले डाँडाकाँडा राताम्य बनेपछि घुम्न आउने पर्यटकहरुको भीड बढेको हो ।
विशेष गरी बिदाका दिन सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक राइनासकोट पुग्ने गरेका छन् । सदरमुकाम बेसीशहरसहित लमजुङ र छिमेकी जिल्ला तनहुँका विभिन्न स्थानबाट घुम्न जानेहरुको चहलपहल बढेको स्थानीयले बताएका छन् ।
लालीगुराँसको मौसम शुरु भएसँगै राइनासकोट मात्र नभई बेसीशहरको गाउँशहर हुँदै पुरानाकोट गढी, घलेगाउँ, भुजुङ, पसगाउँलगायतका क्षेत्रका जंगल पनि गुराँसले ढकमक्क भएका छन् । यसले गर्दा प्राकृतिक सौन्दर्य अवलोकन, सूर्योदय तथा हिमाल हेर्न आउने पर्यटकहरुको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ ।
गुराँस फुल्ने सिजन शुरु भएसँगै सम्बन्धित क्षेत्रका होमस्टेहरुमा पनि आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको पर्यटन व्यवसायीहरुले बताएका छन् । उत्तरी लमजुङका पर्यटकीय गाउँहरुमा पनि यस मौसममा पर्यटक पुग्ने क्रम बढ्दो छ ।
हाल जिल्लाका विभिन्न गाउँहरुमा दर्जनभन्दा बढी होमस्टे सञ्चालनमा छन् । उत्कृष्ट गाउँ तथा मौसमी प्राकृतिक सम्पदालाई व्यवस्थित रुपमा प्रवद्र्धन गर्न सके पर्यटन व्यवसायबाटै जिल्लाका धेरै बासिन्दाले रोजगारी तथा आयआर्जन गर्न सक्ने सरोकारवालाहरुको भनाइ छ ।











प्रतिक्रिया