पोखरा । गण्डकी प्रदेशमा एक वर्षमा क्षयरोगबाट १ हजार ३ सय ९० बिरामीको मृत्यु भएको छ । नेपाललाई सन् २०५० सम्म क्षयरोगमुक्त बनाउने लक्ष्यका साथ लागिरहेको अवस्थामा गण्डकी प्रदेश सरकारले क्षयरोग खोजपडताल अभियान जारी गर्दा गतवर्ष २ हजार ८ सय १ क्षयरोगी पुष्टि भए । क्षयरोग निर्मूल पार्ने गण्डकी सरकारको योजना अघि बढिरहँदा गतवर्ष ५ हजार ५ सय ४ नयाँ बिरामी भेटिएका थिए ।
यस्तै चालू आर्थिक वर्षको ८ महिनामा गण्डकी प्रदेशमा १ हजार ४ सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन् । क्षयरोगका बिरामी खोजी उपचारमा लागेको गण्डकी प्रदेश सरकारले एआई एक्सरे मेसिनको सहायताले गाउँ–गाउँसम्म पुगेर बिरामी खोजिरहेको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठक बताउनुहुन्छ ।
नेपालको प्रमुख जनस्वास्थ्य समस्याका रूपमा रहेको क्षयरोगको पहिचान गरी निदान गर्ने र जनचेतना फैलाउने लक्ष्यका विभिन्न कार्यक्रम गरिँदै आएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सन् २०२४ मा नेपालमा ६७ हजार नयाँ क्षयरोगका बिरामी फेला परेका छन् । देशभरका ६ हजार २ सय ४१ स्वास्थ्य संस्थामा क्षयरोगको उपचार हुन्छ भने ७ सय ८५ संस्थामा तोकिएको माइक्रोस्कोपी सेवा र १ सय ४२ संस्थामा द्रुत परीक्षण सेवा निःशुल्क उपलब्ध छ ।
गण्डकी प्रदेशमा ८ सय २९ डट्स केन्द्रहरु, ३ वटा औषधि प्रतिरोधी क्षयरोग उपचार केन्द्र, १ वटा क्षयरोग र प्रेषण व्यवस्थापन केन्द्र, ११ वटा उपकेन्द्रहरु, १ सय १ वटा माइक्रोस्कोपी निदान केन्द्र, १० वटा जिन एक्सपर्ट केन्द्र र ३ वटा एक्सपर्ट एक्सडिआर केन्द्रहरु रहेका छन् ।
गण्डकी प्रदेशमा पछिल्लो तीन वर्षको तथ्यांक हेर्दा बिरामी बढ्दो क्रममा देखिएको छ । २०८० सालमा २ हजार ७ सय ६५ बिरामी फेला पर्दा २०८१ सालमा २ हजार ८ सय १ बिरामी भेटिए । चालू आर्थिक वर्षको ८ महिनासम्म १ हजार ४ सय ५३ भेटिएको प्रादेशिक रोग नियन्त्रण कार्यालय गण्डकीका कार्यक्रम अधिकृत सन्तोष पौडेलले जानकारी दिनुभयो ।
उहाँले अझै पनि समाजमा क्षयरोगीलाई हेर्ने दृष्टिकोण नकारात्मक रहेको र क्षयरोग निको हुन्छ भन्ने बारेमा धेरैलाई ज्ञान नरहेको बताउनुभयो । अबका दिनमा नागरिकलाई क्षयरोगको उपचार सम्भव रहेको बुझाउन सकेमा यसको अन्त्य गर्न सकिने उहाँको भनाइ छ ।
‘क्षयरोग निको गर्नका लागि ६ महिना नियमित औषधि खाए हुन्छ, जुन कुरा नागरिकलाई बुझाउन सकिएको छैन । क्षयरोगको किटाणु हरेक मानिसमा छ तर यो रोग प्रतिरोधी क्षमता भएकाहरुलाई लाग्दैन, जो कमजोर छ उनीहरुमा लाग्ने सम्भावना धेरै रहन्छ ।’ उहाँले भन्नुभयो, ‘हामीले यसबारेमा सचेतना फैलाउन अत्यावश्यक छ ।’
विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष संसारभर ८० लाख नयाँ क्षयरोगी थपिन्छन् । क्षयरोगबारे अझै समाजमा जनचेतना फैलाउनुपर्ने र ६ महिना औषधि खाएमा निको हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।
गण्डकी प्रदेश सरकारले अहिले एआई एक्सरेमार्फत क्षयरोग पत्ता लगाइरहेको छ । उक्त प्रविधिले अन्य प्रविधिले पत्ता लगाउन नसकेको अवस्थामा समेत पत्ता लगाएका कारण यसको प्रभावकारिता निकै रहेको देखिन्छ । गण्डकीमा २ वटामात्रै एआई एक्सरे रहेको छ ।











प्रतिक्रिया