काठमाडौं ।
ब्लड डोनर्स एसोसिएसन नेपाल (ब्लोदान) को आयोजनामा ११औँ राष्ट्रिय रक्तदाता दिवस तथा सम्मान कार्यक्रम शनिवार काठमाडौंको नेपाः ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।
प्रमुख अतिथि ब्लोदानका संरक्षक तथा नेपाल मिडिया एलायन्सका अध्यक्ष भाष्करराज राजकर्णिकारले पानसमा दीप प्रज्वलन गरी उद्घाटन गर्नुभएको थियो । सो कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै ब्लोदानले स्वयंसेवी रूपमा गर्दै आएको कामप्रति सन्तोष व्यक्त गर्दै सबैको साथ र सहयोगको जरुरी रहेको जोड दिनुभयो ।
कार्यक्रममा वरिष्ठ सल्लाहकार तथा सल्लाहकार समितिका संयोजक सूर्यकुमारी श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्ल, ब्लड डोनर्स अफ अमेरिका (बीडीए) का अध्यक्ष महेश्वर पन्तलगायत विभिन्न वक्ताहरूले स्वयंसेवी रक्तदान अभियानलाई मानव सेवाको उत्कृष्ट कार्यको रूपमा व्याख्या गदै यस अभियानलाई अझ व्यापक बनाउनुपर्नेमा जोड दिँदै ब्लोदानले विगत ३ दशकभन्दा अगाडिदेखि यस क्षेत्रमा गर्दै आएको काम तथा पु¥याउँदै आएको सेवाको प्रशंसा गर्नुभएको थियो ।
सो कार्यक्रममा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा भक्तपुर क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएका ब्लोदानका केन्द्रीय सदस्य रुकेस रन्जितलाई सम्मानित गरिएको थियो । सम्मानपत्र ग्रहण गर्नु हुँदै उहाँले स्वयंसेवी रक्तदानसम्बन्धी नीति तथा कानुन निर्माणमा आफूले प्राथमिकताका साथ पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही कार्यक्रममा ब्लोदानका पूर्वअध्यक्ष स्व. महेन्द्र बिलास जोशीलाई ब्लोदानको हित तथा प्रगतिमा उहाँले पु¥याउनुभएको योगदानको कदर गर्दै मरणोपरान्त सम्मान प्रदान गरिएको थियो । साथै ब्लोदानको आह्वानमा रक्तदान कार्यक्रम आयोजना गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको थियो ।
कार्यक्रमका सभापति तथा केन्द्रीय अध्यक्ष राजेश श्रेष्ठले ब्लोदानले स्थापना कालदेखि नै स्वयंसेवी रक्तदान अभियानमा निरन्तर कार्य गर्दै आइरहेको भए तापनि अझ धेरै कामहरू गर्न बाँकी रहेको बताउनुभयो । रगतको मागअनुसार आपूर्ति हुन नसकिरहेको आजको दिनमा रगतको प्रयोगबारे अनुगमन गर्नुपर्ने र हरेक रक्तसञ्चार सेवामा डिजिटल बोर्डमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्ने बताउनुभयो ।
ब्लोदानले आगामी दिनमा रक्तदान अभियानलाई देशव्यापी रूपमा विस्तार गर्दै रक्त अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गरेको छ ।
ब्लोदानका अध्यक्ष राजेश श्रेष्ठको सभापतित्व तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, स्वयंसेवी रक्तदाताहरूको उपस्थितिमा सम्पन्न सो कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्ल, ब्लड डोनर्स अफ अमेरिका (बीडीए) का अध्यक्ष महेश्वर पन्त विशेष अतिथि तथा ब्लोदानका संस्थापक, सल्लाहकार समितिका संयोजक एवं नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यसमितिका सदस्य सूर्यकुमारी श्रेष्ठ, ब्लोदानका संस्थापक तथा पूर्वमहासचिव भूषणलाल श्रेष्ठ, इन्टरनेसनल नेपालिज ब्लड डोनर्स एुसोसिएसनका केन्द्रीय उपाध्यक्ष डा. मनिता राजकर्णिकार, ब्लोदानका निवर्तमान अध्यक्ष ई. सानुबाबु प्रजापति, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल रक्तसञ्चार सेवाका प्रमुख परशुराम दाहाल, ब्लोदानका वरिष्ठ सल्लाहकार, सल्लाहकार तथा ब्लोदान जिल्ला शाखाका अध्यक्षहरू अतिथिको रूपमा उपस्थिति रहेको थियो ।
ब्लोदानका महासचिव मचाकाजी महर्जनले सञ्चालन गर्नुभएको सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष उज्वल केसीले स्वागत मन्तव्य राख्नुभएको थियो ।











प्रतिक्रिया