पार्टीमा बृहत् एकताका लागि कांग्रेसका मध्यमार्गी नेताहरूको प्रयास

2.82k
Shares

भक्तपुर ।

नेपाली कांग्रेसलाई एक ढिक्का बनाउने प्रयासस्वरूप नेपाली कांग्रेसका मध्यमार्गी नेताहरूले प्रयास थालेका छन् । पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकीकृत रूपमा अगाडि बढ्न आउँदो नियमित महाधिवेशनका निम्ति पार्टीका सबै नेता कार्यकर्ताले जस्तोसुकै त्याग गर्न तयार हुनुपर्ने पार्टी एकता पक्षधर नेताहरूको भनाइ छ ।

एकताको प्रयासस्वरूप शनिवार भक्तपुरमा आयोजित भेलामा बोल्दै नेपाली कांग्रेसका नेता तथा नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले पार्टीका नेता जो र जुन पक्षका भए पनि देश र जनताको हित तथा लोकतन्त्रको रक्षाका लागि पार्टीभित्र व्यापक र बृहत् एकताका लागि तयार हुनुपर्ने बताउनुभयो । नेता कायस्थले सबै पक्षलाई समेटेर भावनात्मक एकता र साझा स्वामित्व सुनिश्चित नगरेसम्म कांग्रेस बलियो हुन नसक्नेमा जोड दिनुभयो ।

भेलामा कांग्रेसका पुराना नेताहरू मोहन बराल, ताराबहादुर कोइराला, लवप्रसाद न्यौपाने, पुष्पराज पराजुली, बालकृष्ण पौडेल, रमेश खरेल, सन्तोष भट्टराई, प्रेमध्वज लामालगायत तीन दर्जन सहभागी हुनुहुन्थ्यो । विशेष महाधिवेशन सबैको सहभागितामा नभएको र त्यसले पार्टीलाई अपेक्षित शक्ति दिन नसकेको टिप्पणी गर्दै नेता ताराबहादुर कोइरालाले कांग्रेस र मुलुक र जनताको हित हुनेगरी एजेन्डासहितको एकतामा जानुपर्ने बताउनुभयो ।

नेता मोहन बरालले विगतका असहमति र विवाद पन्छाउँदै आन्तरिक एकतालाई मजबुत बनाउनुपर्ने बताउनुभयो । गत माघ २ गते थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएपछि रुष्ट देउवा पक्षधर सर्वोच्च अदालत पुगेको थियो । १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति फर्काउन हालिएको रिट अदालतमा विचाराधीन छ ।

यसमा गगन थापाको पक्षमा अन्तरिम आदेश दिएको २ महिनाभन्दा बढी बितिसक्दा अन्तिम निर्णय आएको छैन । जसकारण चुनावका बेला गुमनाम देउवा पक्षधर नेताहरूले यतिबेला प्रश्न उठाउन थालेका छन् ।