स्यस्यः समाजको १२ वर्ष एकता, पहिचान र सांस्कृतिक गौरवको उत्सव बन्यो


ललितपुर ।

नेपालभाषा, संस्कृति र सम्पदाको संरक्षणसँगै राज्यमा पहुँच र प्रतिनिधित्वको विषयलाई सशक्त तुल्याउँदै स्यस्यः समाज यलले शनिवार आफ्नो १२ औं स्थापना दिवस मनाएको छ ।

नेपालभाषा जगेर्ना, संस्कृति, सम्पदाको पहिचानको प्रवद्र्धन गर्न स्यस्यः समाज यल स्थापना गरिएको हो । नेवाः समुदायको मुख्य जातिका रूपमा रहेको स्यस्यः समाजभित्र श्रेष्ठ, मुल्मी, जोशी, प्रधान, अमात्य, नेम्कुललगायत १ सय ७ भन्दा बढी थरहरू रहेका छन् । ‘झी स्यस्यः, झी नेवाः, झीगु तजिलजि’ (हामी स्यस्यः, हामी नेवाः, हाम्रो पहिचान) भन्ने मूल नारासहित आयोजित विविध कार्यक्रमले समुदायभित्र एकताको सन्देश प्रवाह गरेको समाजका सचिव चन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो ।

बिहान पाटन दरबार क्षेत्र मंगलबजारबाट निकालिएको बृहत् सांस्कृतिक ¥यालीले नगरको माहोल बेग्लै बनाएको थियो । ¥यालीको शुभारम्भ ललितपुर क्षेत्र नं २ का सांसद् जगदीश खरेलले गर्नुभयोे । युवायुवतीहरूले परम्परागत दमोखिं, नगडा र बाँसुरीको तालमा सांस्कृतिक धुन बजाउँदै मंगलबजारबाट सुरु भएको ¥याली हौगल, इखालखु, गाबहाल हँुदै पाटनढोका बालिफमा पुगेपछि सभामा परिणत भएको थियो । उद्योग, व्यवसाय, शिक्षा, स्वास्थ्य, भाषा, संस्कृति क्षेत्रलगायत विभिन्न तहतप्कामा रहेका सयौं स्यस्यः समुदायका प्रतिनिधिहरू उपस्थिति रहेको थियो भने ¥याली महिला र युवावर्गको उल्लेख्य सहभागिताले थप ऊर्जाका रूपमा लिएका छन् ।

¥यालीमा सहभागीहरूले ‘संस्कृतिको संरक्षण हाम्रो अभियान, हाम्रो संस्कृति, हाम्रो पहिचान स्यस्यः समाज सधैं अघि, हाम्रो मूर्त, अर्मूत संस्कृति संरक्षण गरौं, नेवाः संस्कृतिको संरक्षण हाम्रो अभियान भनी नेपाली र नेपालभाषामा लेखिएको विभिन्न सन्देश दिने प्लेकार्ड बोकेर आएका थिए ।

सो अवसरमा समाजका अध्यक्ष नवीनमंगल जोशीले नेवाः समुदायको हकहित, भाषा, संस्कृति र पहिचानको संरक्षणसँगै राजनीतिक अधिकार प्राप्तिका लागि समाज निरन्तर सक्रिय रहेको उल्लेख गर्दै भन्नुभयोे– ‘हाम्रो अभियानले राष्ट्रिय एकता र सामाजिक सद्भावमा महत्वपूर्ण योगदान पु¥याउने छ ।’ दिउँसो आयोजित सभाको उद्घाटन गर्दै पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले समाजले नेवाःहरूलाई एकत्रित गर्दै भाषा, संस्कृति र अधिकारका मुद्दामा सशक्त भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । अहिलेको बदलिँदो परिवेशमा समुदायका साझा एजेण्डासँगै समृद्धि, सुशासन र विकासका लागि सक्रियता देखाउनुपर्ने उहाँको भनाइ रहेको छ ।

समारोहमा वरिष्ठ जलतरंग मोहनप्रसाद जोशीलाई समाजको प्रतिष्ठित व्यक्तिका रूपमा सम्मान गरिएको थियो । संस्कृतिविद् छत्रबहादुर कायष्ठद्वारा लिखित नेपालको भाषा पुराना शब्द भण्डार संग्रहित पुलांगु खँग्व धुकु पुस्तक लोकार्पण गरिएको थियो । समाजको इलाका नं ५ पूर्णचण्डी शाखा यस वर्षको उत्कृष्ट शाखामा परेको छ । सो शाखाका अध्यक्ष माधव मुल्मीलाई रनिङ शिल्ड प्रदान गरिएको थियो ।

समारोहमा समाजले बनाएको मापदण्डअनुसार विभिन्न क्षेत्रमा उत्कृष्ट हुनेलाई उत्कृष्ट स्यस्यः सम्मान, यशस्कर सम्मान, आजीवन सदस्य सम्मान तथा उत्कृष्ट विद्यार्थी पुरस्कार वितरण गरिएको थियो ।

समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भाषा, संस्कृति जोगाउन समाजले ठोस भूमिका निर्वाह गर्र्नुपर्नेमा जोड दिँदै यस कार्यक्रममा महानगरपालिका पर्याप्त सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा नेवा समुदायको प्राचीन सांस्कृतिक धरोहर ‘दमोखिं नगडा बाँसुरी बाजा’को विशेष प्रस्तुति समेत गरिएको थियो । कुनै समय हरेक जात्रा र शुभकार्यमा गुञ्जिने यी बाजाहरू अहिले लोप हुने अवस्थामा पुगेका छन् ।

तर, स्यस्यः समाजले यस्ता परम्परागत बाजाहरूलाई जोगाउन युवा पुस्तालाई प्रशिक्षण दिँदै संरक्षण अभियान अगाडि सचिव श्रेष्ठले बताउनुभयो । समाजका अनुसार ललितपुरको भित्री बस्तीमा मात्र स्यस्यः समुदायका ३० हजारभन्दा बढी मतदाता रहेका छन् । यसपटकको स्थापना दिवसलाई समुदायको एकता, पहिचान र सांस्कृतिक गौरवको प्रतीकका रूपमा स्थापित गर्दै जाने विश्वास गरिएको छ ।