भक्तपुर ।
अरनिको राजमार्गअन्तर्गत बनेपा–धुलिखेल छ लेन सडक बिस्तारका क्रममा सवारी चाप बढेसँगै च्यामसिंह–ताथली–नाला सडकमा दिनहुँ दुर्घटना बढ्न थालेको छ । यो सडक खण्डमा दुर्घटना बढेपछि भक्तपुरका प्रमुख जिल्ला आधिकारी नेतृत्वको टोलीले दुर्घटना न्यूनीकरणका लागि पहल गरेको छ ।
प्रजिअ उमेशकुमार ढकालको नेतृत्वमा भएको सडकको अनुगमनमा सडकअन्तर्गत ताथलीस्थित दत्तात्री खाद्य उद्योग नजिकै बढी दुर्घटना हुने गरेको पाइएको छ । यसक्षेत्रमा एकैदिन आफ्नै आँखाअगाडि तीनवटासम्म दुर्घटनामा भएको बताउँदै स्थानीय उद्योगी सञ्जीव मधिकर्मीले आफू पनि असुरक्षित महसुस हुन थालेको बताउनुभयो । दुर्घटना बढेपछि आफूले सडक क्षेत्रमा तीनवटा सीसी क्यामेरा जडान गरिदिएको मधिकर्मीको भनाइ थियो ।
एक वर्षअघि चाँगुनारायण नगरपालिकाले यहाँ नौवटा सीसी क्यामेरा जडान गरे पनि अहिले एउटा पनि सञ्चालनमा नरहेको वडाध्यक्ष गणेश त्यातले बताउनुभयो । सीसी क्यामेरासमेत नहुँदा दुर्घटना गरेर सवारी साधन भाग्ने र गल्ती गर्नेलाई कारबाही गर्नसमेत समस्या भएको प्रहरी वृत्त जगातेकी प्रमुख चन्चला श्रेष्ठको भनाइ छ । सीसी क्यामेरा जडान र सचेतना मुलक बोर्ड राख्न सके दुर्घटना न्यूनीकरणका साथै अनुसन्धानमा समेत सहयोग पुग्ने श्रेष्ठले बताउनुभयो ।
अनुगमनका क्रममा प्रजिअ ढकाल र प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले दुर्घटनाग्रस्त क्षेत्रमा तत्काल सुरक्षाकर्मी राखेर ट्राफिक अनुशासन कायम गराउने, फ्लेक्स बोर्ड, सीसी क्यामेरा राख्न पहल गर्ने बताउनुभएको छ । अनुगमनमा ट्राफिक प्रहरी भक्तपुरकी प्रमुख प्रहरी निरीक्षक झरना सोनार, सुरक्षा निकायका प्रतिनिधि, उद्योगी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।











प्रतिक्रिया