रमाइलो चनौली बजार

658
Shares

चितवन । भरतपुर–मेघौली सडकखण्डअन्तर्गत पर्ने चनौली बजार पछिल्ला वर्षहरूमा तीव्ररूपमा परिवर्तन हुँदै गएको छ । सडक पूर्वाधारको सुधार, सरकारी कार्यालयको स्थापना तथा व्यापारिक गतिविधिको विस्तारसँगै बजारको चहलपहल उल्लेखनीय रूपमा बढेको स्थानीयवासी बताउँछन् ।

केही वर्षअघि सामान्य किनमेल केन्द्रका रूपमा सीमित रहेको चनौली बजार अहिले पश्चिम चितवनको महत्त्वपूर्ण व्यापारिक केन्द्रका रूपमा विस्तार हुँदै गएको छ । भरतपुर–मेघौली सडकखण्डको स्तरोन्नति भएपछि आवतजावत सहज बनेको छ भने यहाँ स्थापना भएका मालपोत तथा नापी कार्यालयका कारण सेवाग्राहीको आवागमन पनि उल्लेखनीय रूपमा बढेको छ ।

बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकालका अनुसार बजारको समग्र विकास र व्यवस्थापनका लागि समितिले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । सडक बत्ती जडान, सरसफाइ, सडक व्यवस्थापन तथा अन्य पूर्वाधार निर्माणका कार्यलाई प्राथमिकतामा राखिएको उनले बताए ।

चनौलीमा मालपोत र नापी कार्यालयसँगै शीतभण्डार, इलाका प्रहरी कार्यालय, आँखा अस्पताल तथा विद्युत् सबस्टेसन सञ्चालनमा छन् । साथै विभिन्न कमर्सियल बैंकहरूको शाखा विस्तार भएपछि वित्तीय सेवा पनि सहज बनेको छ । बजार व्यवस्थापन समितिको सक्रियतामा हालै खुला व्यायामशाला सञ्चालनमा आएको छ भने सभाहल निर्माणको काम पनि अघि बढिरहेको अध्यक्ष ढकालले जानकारी दिए ।

पछिल्ला दिनहरूमा चनौली बजार क्षेत्रमा नयाँ होटल, लज, रेस्टुरेन्ट, क्याफे, कपडा तथा इलेक्ट्रोनिक सामग्रीका पसल खुल्ने क्रम बढेको छ । निजी क्षेत्रको लगानीसँगै स्थानीय युवाहरू स्वरोजगारतर्फ आकर्षित हुन थालेका छन् ।

चनौली टोल विकास संस्थाका अध्यक्ष कालिकाप्रसाद खनालका अनुसार बजार क्षेत्रमा विशेष गरी होटल तथा रेस्टुरेन्ट, खाद्यान्न र खुद्रा व्यवसायमा चहलपहल बढ्दै गएको छ । भरतपुर महानगरपालिकाले सडक बत्ती जडान तथा सरसफाइ अभियान सञ्चालन गरेपछि बजार थप सुरक्षित र आकर्षक देखिन थालेको उनले बताए ।

यसै बीच चनौली क्षेत्र रक्तदान तथा मानवीय सेवाका गतिविधिका लागि पनि परिचित बन्दै गएको छ । नेपाल रेडक्रस सोसाइटी चनौली उपशाखाका सभापति ओमप्रसाद लामिछानेका अनुसार यहाँ प्रत्येक तीन महिनामा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदै आएको छ ।

यद्यपि ट्राफिक व्यवस्थापन, पार्किङ अभाव र फोहोर व्यवस्थापनजस्ता समस्या भने चुनौतीका रूपमा देखिन थालेका छन् । दीर्घकालीन योजनासहित बजार व्यवस्थापनलाई व्यवस्थित गर्न सके चनौली बजारलाई पश्चिम चितवनको दिगो आर्थिक केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीयको अपेक्षा रहेको छ ।