छल्दीटारी–पालुखा जोड्ने झोलुङ्गे पुल तयार

752
Shares

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ अन्तर्गत पर्ने छल्दीटारी र पालुखा जोड्ने झोलुङ्गे पुल निर्माण कार्य निर्धारित समयभन्दा ५ महिनाअगावै तयार भएको छ । स्थानीय बासिन्दा तथा विद्यार्थीको आवतजावत सहज बनाउने उद्देश्यले निर्माण थालिएको उक्त पुल अब सञ्चालनमा आउने तयारीमा रहेको छ ।

सडक पूर्वाधार विकास कार्यालय तम्घासमार्फत निर्माण गरिएको १४६ मिटर लामो सस्पेन्सन एन–टाइपको पुल निर्माणको जिम्मा आस्था सम्झना जेभी, अर्घाखाँचीले लिएको थियो । पुल निर्माणका लागि कुल १ करोड ७१ लाख ८४ हजार ४६० रुपियाँ बजेट विनियोजन गरिएको थियो ।

निर्माण व्यवसायीसँग २०८२ साल भदौ ३ गते सम्झौता सम्पन्न भई २०८३ साल भदौ ३ गतेभित्र काम सक्ने लक्ष्य राखिएको थियो । तर निर्माण कार्य निर्धारित समयभन्दा अगावै सम्पन्न भएपछि स्थानीयवासीमा खुशी छाएको छ ।
वर्षायाममा खोलामा पानीको बहाव बढ्दा स्थानीय बासिन्दा, विशेष गरी विद्यार्थी, बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरूलाई आवतजावतमा ठूलो जोखिम मोल्नुपर्ने अवस्था थियो । पुल नहुँदा कतिपय अवस्थामा विद्यार्थीहरू विद्यालय जानबाट वञ्चित हुने समस्यासमेत देखिएको स्थानीय रमेश श्रेष्ठले बताए ।

वर्षौंदेखि पुल अभावका कारण स्थानीयहरूले विभिन्न समस्या भोग्दै आएका थिए । विशेष गरी साना बालबालिका, वृद्धवृद्धा तथा बिरामीहरू खोला तर्न बाध्य हुँदा ज्यान जोखिममा पर्ने अवस्था थियो । बर्खायाममा खोलाको बहाव बढ्दा झनै जोखिम बढ्ने र कतिपय अवस्थामा लामो घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यतासमेत थियो । अब पुल निर्माण सम्पन्न भएसँगै यी सबै समस्या अन्त्य हुने श्रेष्ठले बताए ।

स्थानीयका अनुसार पुल सञ्चालनमा आएपछि शिक्षा क्षेत्रमा उल्लेखनीय सुधार आउनेछ, किनभने विद्यार्थीहरू अब सुरक्षित रूपमा नियमित विद्यालय जान सक्नेछन् । साथै, स्वास्थ्य सेवा पहुँचमा समेत सहजता आउनेछ भने व्यापारिक गतिविधि विस्तारमा पनि सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । पुल निर्माण सम्पन्न भएसँगै स्थानीयहरुको वर्षौंदेखिको सपना पूरा भएको छ ।

यो पुललाई केवल दुई बस्ती जोड्ने संरचना मात्र नभई स्थानीयको जीवनस्तर सुधार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा लिइएको छ । अब यसले सामाजिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।

पुल नहुँदा कतिपय विद्यार्थी घुमाउरो बाटो भएर विद्यालय जानुपर्ने बाध्यता थियो । अब यो पुल सञ्चालनमा आएसँगै आधा घण्टाको बाटो ५ मिनेटमै पुग्ने गरी छोटिएको छ । पुल सञ्चालनमा आएपछि शिक्षा, स्वास्थ्य, व्यापार तथा सामाजिक गतिविधिमा समेत सहजता आउने अपेक्षा गरिएको छ । लामो समयदेखि उठाउँदै आएको माग पूरा भएको भन्दै स्थानीयले खुशी व्यक्त गरेका छन् ।