काठमाडौं ।
नेपाल मेडिकल काउन्सिलले उपचारमा गम्भीर लापरबाही गरेको ठहर गर्दै एक जना दन्त चिकित्सकलाई एक हप्ताका लागि निलम्बन गर्ने निर्णय गरेको छ । काउन्सिलको गत फागुन २८ गते बसेको पूर्ण बैठकले मीनभवनस्थित डेन्टल भिजन प्रालिमा कार्यरत डा. अजयकुमार साह (दर्ता नं. २७०५) लाई अस्थायी रूपमा सेवाबाट निलम्बन गर्ने निर्णय गरेको हो ।
काउन्सिलका अनुसार डा. साहविरुद्ध प्राप्त उजुरीमाथि विस्तृत छानबिन गर्दा उपचार प्रक्रियामा त्रुटि भेटिएको निष्कर्ष निकालिएको हो । उजुरी, अस्पतालका कागजात, सम्बन्धित चिकित्सकको बयान तथा विषय विज्ञहरूको रायका आधारमा कारबाही गरिएको काउन्सिलले जनाएको छ । नेपालमा चिकित्सकको दर्ता, नियमन र अनुशासन कायम गर्ने जिम्मेवारी काउन्सिलकै रहेको छ ।
यो घटना करिब एक वर्षअघिको हो । गत वर्ष चैत ५ गते काठमाडौंको कुलेश्वर निवासी २६ वर्षीया एक महिला तीव्र दाँत दुखाइका कारण उक्त क्लिनिक पुगेकी थिइन् । उनले डा. साहबाट चार चरणमा उपचार गराएकी थिइन् । सुरुवाती तीन चरण सामान्य रहे पनि चौथो चरण अत्यन्त पीडादायक भएको उनले उजुरीमा उल्लेख गरेकी छन् ।
उजुरी अनुसार उनलाई उक्त चरणमा एनेस्थेसिया नदिई उपचार गरिएको दाबी गरिएको छ । साथै, उपचारका क्रममा बारम्बार एक्स–रे गर्दा असह्य पीडा भएको पनि उनले उल्लेख गरेकी छन् । त्यसपछि उनको गिजामा संक्रमण, सुन्निने समस्या तथा असहजता देखिएको बताइएको छ ।
ती महिला पुन ः वैशाख ७ गते क्लिनिक पुगे पनि चिकित्सकले समस्या सामान्य भन्दै गम्भीर रूपमा नलिएको आरोप छ । पछि अन्य चिकित्सककहाँ जाँच गराउँदा आरसीटी अपूरो रहेको र अवस्था जटिल बनेको पत्ता लागेको थियो । अन्ततः प्रभावित दाँत निकाल्नुपर्ने अवस्था आएको पीडितको भनाइ छ ।
उनले अपूरो उपचारका कारण आफ्नो स्वास्थ्यमा मात्र नभई दैनिक जीवन, अध्ययन तथा सामाजिक गतिविधिमा समेत नकारात्मक असर परेको उल्लेख गर्दै उचित क्षतिपूर्तिको मागसहित काउन्सिलमा उजुरी दिएकी थिइन् ।
छानबिनका क्रममा उपचारमा लापरबाही पुष्टि भएपछि काउन्सिलले डा. साहलाई एक साताका लागि निलम्बन गर्ने निर्णय गरेको हो । यस्तो कारबाहीले स्वास्थ्य क्षेत्रमा पेशागत उत्तरदायित्व र सेवाको गुणस्तर कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हाल काउन्सिलले यस्ता उजुरीलाई गम्भीरतापूर्वक लिँदै आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडि बढाउँदै आएको जनाएको छ ।











प्रतिक्रिया