पोखरामा वाडा अटो शो २०२६ आयोजना हुँदै


काठमाडौँ
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको प्रस्तुतीमा पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) द्वारा चैत ११ देखि १५ गतेसम्म पोखराको लेकसाइडस्थित तालबाराही चोक नजिक खेलमैदानमा ‘दोस्रो नाडा प्रेजेन्ट्स वाडा अटो शो २०२६’ आयोजना हुने भएको छ ।

प्रदेशकै सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिएको यस कार्यक्रमको प्रवद्र्धक पोखरा महानगरपालिका रहेको छ भने व्यवस्थापन ग्लोबल एक्स्पोजिसन एन्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स) ले गर्नेछ ।

प्रदर्शनीमा राइड इनर्जी पावर्ड बाई, शिखर इन्सुरेन्स इन्सुरेन्स पार्टनर, दिर्घायु पोखरा हस्पिटल हस्पिटल पार्टनर, खल्ती एप टिकटिङ पार्टनर, युनियन पे क्यूआर पार्टनर लगायत विभिन्न संस्थाहरूको सहकार्य रहनेछ । यस संस्करणमा सवारी साधन खरिद–बिक्री, आधुनिक प्रविधि तथा अटो क्षेत्रको विकासबारे जानकारी दिइनेछ भने अवलोकनकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

प्रदर्शनीमा ४ पाङ्ग्रे, २ पाङ्ग्रे, लाइट कमर्शियल तथा हेभी कमर्शियल सवारी साधनका विभिन्न ब्रान्डहरू, लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण र वित्तीय संस्थाका गरी २० वटा स्टल रहनेछन् । साथै भिन्टेज कार शो र युनिट्री जी वान ह्युमानोइड रोबोट, युनिट्री गो टु जस्ता रोबोटहरू समेत आकर्षणका रूपमा प्रस्तुत गरिनेछन् ।

पाँच दिनसम्म सञ्चालन हुने यस अटो शोमा करिब ४५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । खल्ती एपमार्फत टिकट खरिद गर्दा पहिलो १०० जना साधारण टिकटमा ५० प्रतिशत र विद्यार्थी टिकटमा १०० प्रतिशत क्यास ब्याक सुविधा समेत उपलब्ध गराइएको आयोजकले जनाएको छ ।