ग्लोबल मनी विकमा एभरेष्ट बैंकको सक्रियता


एभरेष्ट बैंकले ग्लोबल मनी विक–२०२६ को अवसरमा देशभर सप्ताहव्यापी रूपमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाल राष्ट्र बैंकको संयोजनमा २०८२ चैत २ देखि ८ गतेसम्म सञ्चालन गरिएको उक्त कार्यक्रममा बैंकले सातै प्रदेशका शाखामार्फत विद्यालय तथा क्याम्पसमा कार्यक्रम आयोजना गर्दै ३ हजारभन्दा बढी विद्यार्थीमाझ वित्तीय साक्षरताको सन्देश प्रवाह गरेको जनाएको छ। साथै केही विद्यार्थीलाई बैंकका शाखा अवलोकन गराई बैंकिङ सेवाबारे व्यावहारिक जानकारी समेत दिइएको थियो ।

“स्मार्ट मनी टक्स (बचत मनी टक्स)” भन्ने नाराका साथ सञ्चालन गरिएका कार्यक्रममा युवालाई वित्तीय ज्ञान, सीप, मनोवृत्ति, वित्तीय समावेशीकरण, सुरक्षित डिजिटल कारोबार तथा बैंकिङ सेवामा अपनाउनुपर्ने सावधानीका विषयमा सचेतना प्रदान गरिएको थियो ।

एभरेष्ट बैंकका हाल करिब १४ लाख ग्राहक रहेका छन् भने देशभर १३३ शाखा सञ्जाल, ४ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय र १६३ वटा एटिएम सञ्चालनमा छन् । बैंकले मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सेवासँगै राजस्व सङ्कलनका लागि ३३ केन्द्रमार्फत सेवा दिँदै आएको छ भने भारतको नयाँ दिल्लीलगायतका स्थानमा प्रतिनिधि कार्यालय स्थापना गरी सेवा विस्तार गर्दै आएको छ ।