
पुरातन सोच–विचारको कारखानाबाट उत्पादन भएको चेतनाले बालबालिका, परिवार र समाजमा खिया लाग्न सक्छ । जसलाई बेलाबेला कोट्याएर माझ्ने काम गर्दै आएको छ, साहित्यले । त्यो समाजले जबरजस्त लादेको कुप्रथाको दाग हटाउन खोज, अध्ययन र वैयक्तिक भावानुभूतिको संयोजन गरी उपन्यासमा पोखेका छन् आख्यानकार अमर न्यौपानेले । बाह्र वर्षअघि पढिसकेको ‘सेतो धरती’ उपन्यास ‘अ ह्वाइट लाइभ’ अङ्ग्रेजीमा अनुदित भएर आएपछि फेरि पढेँ ।
यस धरतीले जति सहेको छ, सेतो जीवन बाँच्ने नारीहरूले पनि उत्ति नै सहेका छन् । तर सहनुको हद हुन्छ । सात वर्षकी बालिकालाई बालविवाह गरिदिएर नौ वर्षमा बालविधवा बनाई असी वर्षमा आश्रम पु¥याएको कथावस्तुभित्र एकल महिलाको सङ्घर्षमय जीवन भेटिन्छ । एउटी विधवालाई गाउँदेखि देवघाटको कुटीसम्म पु¥याउँदा, विधवा माईसँगै आश्रम पुगेको महसुस गराउने लेखनकला अलौकिक लाग्छ । तारालाई शुरुमा राजयोग भएकी सौभाग्यवती पात्रा माने पनि बेलौतीको वृक्षमुनि जन्माएर ज्योतिष विज्ञानसँग जोडेको छ । विभिन्न कथनहरूको फैलावटसँगै श्रुतिविम्बको प्रयोगले विधवाको सिङ्गो जीवन ऐतिहासिक दस्ताबेजको रुपमा रुपान्तरण भएको छ, जो ‘सेतो धरती’ भएर बाँचिरहनेछ ।
वृद्घा भएपछि घर छोडेर आश्रमतिर लाग्नुको पीडा । कुटीमा न त पकाएर खान सक्छ, न त आफ्नै शरीरमा औषधि लगाउन, केवल हाड र छालाको रुग्ण शरीरलाई सासले मात्र धानेको कारुणिक प्रसङ्गले जीवनको अन्तिम घडीमा सबैले भोग्ने भविष्यको भित्तामा ठोक्काउँछ । जीवनको उत्तरार्धमा विधवा ताराले बालसखा गोविन्दलाई देवघाटमा अचानक भेटेपछि बचपनमा रोपेको बिरुवाको बूढो रुप, अनि दुलाह–दुलही भएको खेलले नोस्टाल्जिया बनाउँदा रुनबाहेक केही गर्न नसक्नु भगवान्को शरण लिनु हो भन्ने सन्देश्यभित्र गर्भदेखि मृत्युसम्मको जीवनचक्रले घुमाइरहन्छ । त्यो कालखण्डको कुनातिर पस्दा, बच्चीलाई ज्वाइँको खोजी गर्ने चलन । बालविवाह गरिदिन बा–आमा र समाजको भूमिका, अबोध नानीहरूले जे सोधे पनि भगवान् देखाएर गरिने खेलबाड । सात वर्षकी बालिकालाई डोली चढाई पराइघर लग्दै गर्दा खोलामा माहुर बगाएपछि पाँच रुपियाँ पाएको प्रसङ्गदेखि भगवान्को घर जाने भनेर दुलाहाको घरमा पु¥याउँदा बालमस्तिष्कमा कस्तो चोट प¥यो होला, कल्पना गर्दा आतेस जगाउने लेखनशैली अमरको आफ्नै लय हो ।
दुलाहको घरमा सानिमाले रातभर बालिकालाई के गर्ने, के नगर्ने, कसरी बोल्ने सब सिकाएको भरमा बच्ची कसैको दुलही, कसैको भाउजू मात्र नभएर धेरैतिर नाता जोडिने कुराले टुसाउँदै गरेको दिमागले उत्पन्न गराएका अँध्यारा पाटाहरू पनि भेटिन्छ । एकातिर भगवान्को घर भन्दै विवाह मण्डपमा पु¥याउँछ भने अर्कोतिर संस्कार–संस्कृतिलाई स्थापित गरेको पाइन्छ । बालिकाको कलिलो मन र पवित्र सोचले प्रकट गरेका अनेक तर्कनालाई बहसको विषय बनाएको छ । बालबुहारी भए पनि कामको जिम्मेवारी थपिँदै जाँदा भाँडाकुटी खेल्ने उमेरमा श्रीमान्को निधन हुँदा शोकमा डुबेनन्, तर समाजलाई देखाउन एउटीले कानमा साउती मार्दै भनी, ‘तिम्रा दुला मरेका हुन् । रुनुपर्च नि ! घुँक्क–घुँक्क अरेर रोऊ न नानी ! पृ ८५ ।’ नाटक गर्न बाध्य भएकी बालिका सानी भएको कारण माइतघर फर्केपछि उही बच्चामा खेलिने खेलहरूमार्फत बालसुलभ विचारलाई हुबहु उतारेर लेखनशक्ति प्रदर्शन गरेका छन् लेखकले ।
बालसखा गोविन्दसँग धूलो भुइँमा छेस्काले लेखेर कख सिकेको प्रसङ्गदेखि सासू बिरामी हुँदा घर पुगेकी तारालाई लोग्ने मरेपछि गरिने काजकिरिया, तेह्र दिन कोरा बस्दा गरिने क्रियाकलापलाई नछुटाई कथाशृङ्खला विस्तार गरिरहँदा, लाग्छ नौ वर्षकी पात्रालाई कतिसम्म सास्ती दिएको ? भन्ने लाग्नु पनि उपन्यासको बलियो पक्ष हो । तारा माइतघर पुगेपछि साथी पवित्रासँग उपद्रो गरेर एक मोहर बिगो तिरेको, समाजले राँडी भनेको, भाइ जन्मिदा रमाएको, सौतेनी सासूको हेपाइ । सासूले सिक्का र सियो प्रयोग गरेर कामकारी हो–होइन भनी जाँच्ने लेखनशिल्प प्रशंसायोग्य छ । बालविधवा भएपछि इच्छा–आकाङ्क्षालाई दबाए पनि सतीप्रथाका कुराले अँध्यारोतिर धकेल्छ, तर मुख्य पात्राले भोग्नु नपर्दा अलिकति उज्यालोले च्याएको देखिन्छ ।
राजस्वला हुँदा सासूले गरेको व्यवहार र उनको शरीरमा हरियाली छाएको वर्णन गर्न खप्पिस उपन्यासकारले उमेरमै बूढी देखिने सधवा र भर्भराउँदो शरीर देखिने विधवाको खुलेरै चर्चा गरेका छन्, ‘सधवाहरू आफ्नो बैंस दुलाहाका लागि दिनदिनै खर्च गर्छन्, पृ. ४३ ।’ विधवा भएपछि साथीसङ्गी र मेलापातमा ख्यालठट्टा नगर्ने, जोगिएर बोल्ने, हिँड्ने, जसले गर्दा कसैको साइत नबिग्रोस् भन्ने मनोविज्ञानले नेपाली समाजको सङ्कीर्ण सोचलाई छताछुल्ल पारेको देखिन्छ । मस्त तरुनी विधवाले लगाउने पहिरनबारे सम्झाएर लोग्नेमान्छेको मनमा पाप विचार नजागोस् भन्ने लेखनीले महिलाहरू कति सजग हुनुपर्छ, सचेत गराउँछ । गाउँमा यज्ञ गर्न आएका युवक साधुले दिएको गीताको पुस्तक र फूल, अनि गोविन्दले साउँअक्षर सिकाएबाट विधवा पात्राको जीवनले फरक पाटो समाउने हो कि, जिज्ञासा जगाउँछ ।
आमाको दूध कति आवश्यक पर्छ भन्ने दृष्टान्तसहित कुकुरदेखि तरुनीसम्मको स्तनपान गराउन खोजेर टुहुरो बालकप्रतिको करुणाले स्तब्ध मात्र बनाउँदैन, शिक्षाप्रद पनि छ । श्रीमान्को गोडाको जल श्रीमतीले खानै पर्ने बाध्यता र त्यसले उठाएका प्रश्नहरू अझै पनि उस्तै देखिन्छन् । सौताहरूबीचको संवाद, यमुनाले श्रीमान्सँग गरेका रतिरागको कुराले विधवा तारालाई पनि सन्तुष्टि पाएको प्रसङ्गले नारी चाहनाको अन्तर्यलाई सतहमा ल्याई भोगी र वैरागी दुईको मनभित्र पसेर उपन्यासकार मज्जाले खेलेको प्रतीत हुन्छ ।
विधवालाई सेतो वस्त्र, तर निक्खुर सेती गाई सेत्तै भए पनि विधवा हुँदैन, स्वतन्त्र र सधवा हुन्छ । धेरै बहरसँग समागम भए पनि कहिल्यै अपवित्र नहुने, गाईको दुध भगवान्देखि सबैलाई पवित्र हुने, तर विधवालाई पशुभन्दा नीच व्यवहार गर्ने समाजप्रति खरो प्रहार गर्ने ‘सेतो धरती’ कुसंस्कार उखेल्ने हतियार हो, ‘बरु उडाओस् मेरो शरीरको सेतो वस्त्र र पारोस् मलाई निर्वस्त्र । यो धरतीजस्तै, सेतो गाईजस्तै पृ. २१२ ।’ बालिकालाई फकाएर विवाह गरिदिने बेमेल समाजको अनुहार देखाएको छ भने सेतो जीवन कहिल्यै रङ्गीन हुन नसक्नुमा को दोषी ? उत्तर खोज्दै परिवर्तनको विद्रोही चेतले रातो रङ्ग पोतेर विधवा इन्दिरा गान्धी प्रधानमन्त्री भएको उदाहरणले नारीमनलाई उजिल्याउने कोशिश गरेको छ ।
खडेरी परेको जीवनमा झरी बर्सेपछि हरियाली छाउनु प्रकृतिको देन हो । सौतेनी आमा पनि तरुनी भएपछिको व्यवहारले विधवा तारा घर न थर, न त माइतघर । एक्लिएको उजाड जीवनले देवघाटतिर लाग्दै गर्दा बाटोमा कान्छा भाइलाई सम्झेको मार्मिक प्रसङ्गले हृदयमा पहिरो झार्छ । तपोभूमि देवघाट पुगेर ताराले आश्रममा जीवन व्यतीत गरिरहँदा नदीको सङ्गीतले शान्त पारे पनि अतीतले घोचिरहन्छ । विधवाले आफू जिन्दगीभर बैला भएर बस्नुपरेको कष्टमा मकैको घोगालाई अघि सारेको छ । स्त्री र पुरुषको गुण एउटै मानवमा नभएको गुनासो पोखेर उपकथामार्फत फरकपन ल्याउन खोजेको देखिन्छ ।
आश्रममा ताराले कपाल पालेपछि स्वामीजीको भड्किँदो मनले फेरि कपाल खौरिन बाध्य भएकी तारा सामान्य जीवनमा फर्किन सकिनन् । तारालाई लोग्ने मान्छेको अनौठो गन्ध थाहा छ, तर स्वाद लिएको छैन । बर्साद भएर पुरुषहरू भनभरि पोखिँदा पनि प्यास मेट्न नदिने समाजप्रतिको दुखेसो । थारो बसेकी महिलाको बूढेसकालमा तल्लो पेट दुख्दा वा महिनावारी गडबड भयो भने पनि सूर्यनारायणमाथि शङ्का गर्ने, तर रङ्गीन जीवनलाई भावावेगमा मात्र सीमित राखेकोले उत्कण्ठाका अरू मुनाहरू पलाउँछन् । उद्वेलित मनलाई शान्त पार्न मौनव्रत बसेकी ताराको कान्छा भाइ आएर मौनव्रत भङ्ग गराउँछन् । आश्रमको कुटीबाट भगवान्ले नलगेसम्म ताराको बुढ्यौली ज्यानले गर्ने दैनिकीलाई लेखक आफैँले भोगेसरि प्रस्तुत गरेका छन् ।
संन्यास लिनु, फेरि एकपल्ट जन्मनुजस्तै कति नियम, विधि, विधानको पालना गरेर सन्यस्त भएको विषयले एउटी विधवा पात्रासँग गङ्गा नदी पुगिन्छ । युवक साधुको पछि लागेकी पवित्राको कहानीले अर्कैै दुनियाँ देखाउँछ । बनारसबाट आएकी गङ्गेश्वरी मिरा, अभिसारिका, वत्सला हुँदै गङ्गेश्वरी भएकी पवित्रा र ताराबीचको संवादले अन्तिममा जीवनले भगवान् नै खोज्ने र पुकार्ने गरेको पुष्टि गरेको छ । बनारस, वृन्द्रावन हुँदै देवघाट आइपुगेकी पवित्राको जीवन भोगाइभित्र विधवा, बैंस, वैराग्य, यौनधन्दा, सामाजिक जीवन, सबथोक भोगेर आफूलाई रित्याएपछि मोक्ष प्राप्त गरेको मार्मिक र गहकिला प्रसङ्गले उपन्यास मसलेदार बनेको छ । परिस्थितिवश पवित्राले देहव्यापार गर्दै रङ्गीन जीवन बिताए पनि मन भने जहिल्यै कुमारी भएकोले आश्रम फर्केको, तर विधवा तारा भने तनलाई कुमारी राख्न सके पनि मनचाहिँ वेश्याजस्तो विचलित भइरहने प्रसङ्गले दुई पात्राबाट मन र शरीरको सन्तुलन कस्तो हुनुपर्छ भन्ने आध्यात्मिक चेतको प्रकटीकरण गरेको छ ।
मातृभूमिको छातीमा जति जे–जे गरे पनि यस धरतीले सहिदिएकै छ भने जीवन पनि त दिएकै छ नि ! त्यस्तै नारीले पनि अनेक कष्ट भोगेर, सहेर मानवसृष्टिलाई चलाइरहेकै हुन्छ । गाउँको परिवेशबाट उठान गरिएको उपन्यासले एकल महिला वा विधवाको सिङ्गो जीवनलाई चित्रित गरेको छ । आञ्चलिकताको सौन्दर्यसँग खेलेर प्रस्तुत गरिएको ‘सेतो धरती’ वास्तवमै न्यौपानेको अमर इतिहास हो, जो धरती रहेसम्म रहिरहनेछ । अधिकारबाट वञ्चित महिलाहरूको आवाज, विभेदी चेतना र कुसंस्कारले जकडिएको समाजलाई उदाङ्गो पार्ने लेखनशिल्प सुन्दर र पठनयोग्य छ । ‘सेतो धरती’ नारीप्रधान उपन्यास भए पनि महिलालाई निम्नस्तरमा र पुरुषलाई उम्दा वा भगवान् नै बनाएर चित्रण गरिएको छ । विधवाप्रति समाजको हेर्ने दृष्टिकोणमा परिवर्तन खोजेको छ भने जीवनको अन्तिम क्षणमा आश्रम पुग्नुपरेको कथावस्तुले ऊ बेलाको समाजलाई ऐनामा हेरेसरि छर्लङ्ग उतारेको छ ।











प्रतिक्रिया