नेपालको समकालीन राजनीतिमा अहिले देखिएको परिवर्तन केवल सत्ता हस्तान्तरण होइन, जनमनोविज्ञानको गहिरो रूपान्तरण हो । भदौ २३–२४ बाट प्रारम्भ भएको राजनीतिक उथलपुथल १३ चैत्रमा आएर कार्यकारी सत्ताको शिखरमा पुग्दै गर्दा एउटा नयाँ अध्याय औपचारिक रूपमा खुल्दै छ, जसले बालेन्द्र साह (बालेन) लाई प्रधानमन्त्री बनाउँदै छ । तर इतिहासले बारम्बार देखाएको छ– जनआशाको उत्कर्ष जति तीव्र हुन्छ, त्यसको परीक्षण पनि त्यत्तिकै कठोर हुन्छ । यसपटक नेपाली जनताले परम्परागत दलगत पहिचानभन्दा माथि उठेर ‘अनुहार’ र ‘आशा’ रोजेका छन् । त्यो अनुहार हो– बालेन्द्र साह (बालेन) । यो निर्वाचन परिणामले स्पष्ट सन्देश दिएको छ– जनता स्थिरता मात्रै होइन, परिणाम खोजिरहेका छन् । भाषण होइन, कामको प्रमाण चाहिरहेका छन् । त्यसैले अब बालेन केवल लोकप्रिय नेता होइनन्, उनी राष्ट्रको आशा, अपेक्षा र परीक्षणको केन्द्र बनेका छन् ।
बालेनको उदय परम्परागत राजनीतिक प्रक्रियाभन्दा भिन्न छ । सामाजिक सञ्जाल, युवा ऊर्जा र विद्रोही चेतनाको संगमले उनलाई यो उचाइमा पु¥याएको हो । काठमाडौं महानगरमा बालेनले संस्थागत सुुधारका काम गरेका थिए । यद्यपि स्थानीय चुनावमा गरेको बाचाअनुसारको काम भने उनले गर्न सकेका थिएनन् । तर जति गरे, राम्रै गरे भन्ने सन्देश देशभर प्रवाह गर्न सफल भए । यद्यपि स्थानीय तहको नेतृत्व र संघीय कार्यकारी नेतृत्वबीचको दूरी अत्यन्त फरक हुन्छ, यहीँबाट वास्तविक परीक्षा शुरु हुन्छ । अबको पहिलो प्रश्न– के ‘लोकप्रियता’लाई ‘प्रभावकारी शासन’मा रूपान्तरण गर्न सकिन्छ ? दोस्रो– के डिजिटल उत्साहलाई संस्थागत सुधारमा बदल्न सकिन्छ ? तेस्रो– के जनअपेक्षाको चुलीलाई यथार्थवादी उपलब्धिमा झार्न सकिन्छ ? यिनै प्रश्नहरूको जवाफले बालेनको कार्यकाललाई सुनौलो इतिहास बनाउने कि चेतावनीपूर्ण उदाहरणमा सीमित गर्ने भन्ने तय गर्नेछ ।
अवसरहरूको दृष्टिले हेर्दा, अहिलेको जनमत बालेनका लागि अभूतपूर्व पूँजी हो । दुई तिहाइनजिकको शक्ति, युवाको व्यापक समर्थन र परिवर्तनको स्पष्ट जनादेश, यी सबैले संरचनागत सुधारका लागि ढोका खोलेका छन् । सानो र चुस्त सरकार, डिजिटल गभर्नेन्स, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न अहिलेभन्दा उपयुक्त समय शायदै आउला । यदि यो क्षण सदुपयोग भयो भने नेपालमा राजनीतिक संस्कारकै रूपान्तरण सम्भव छ । तर चुनौतीहरू अझै गम्भीर छन् । सबैभन्दा ठूलो चुनौती हो– अत्यधिक अपेक्षा । जनताले जुन गतिमा परिवर्तन चाहेका छन्, त्यो व्यवहारमा कार्यान्वयन गर्न राज्य संरचना तयार छैन । ब्युरोक्रेसीको जडता, शक्ति सन्तुलनको जटिलता, अन्तर्राष्ट्रिय कूटनीतिक दबाब र दलभित्रै सम्भावित व्यवस्थापन संकट, यी सबैले गति अवरुद्ध गर्न सक्छन् । सामाजिक सञ्जालमा आधारित समर्थन क्षणिक पनि हुन सक्छ । परिणाम नदेखिए तिनै समर्थन असन्तोषमा रूपान्तरण हुन समय लाग्दैन । त्यसैले अब आवश्यक छ– उत्साह होइन, संयम, लोकप्रियता होइन, संस्थागत मजबुती र भाषण होइन, मापनयोग्य परिणाम ।
बालेनले प्रारम्भिक संकेतहरूमा देखाएको सानो मन्त्रिपरिषद्, दक्षतामा आधारित नियुक्ति, खर्च कटौती र डिजिटल प्रणाली विस्तारको सोच सकारात्मक छन् । तर यी घोषणा व्यवहारमा कत्तिको रूपान्तरित हुन्छन् भन्ने नै निर्णायक हुनेछ । सुशासन केवल नारा होइन, कठोर निर्णय र निरन्तरता चाहिने प्रक्रिया हो । अब इतिहासको घडी चलिसकेको छ । त्यसैले बालेनले आशालाई निराशामा होइन कि उपलब्धिमा बदल्न सक्नुपर्छ ।











प्रतिक्रिया