मोडल खुस्बु ओली राप्रपाकी प्रमुख सचेतक


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट समानुपातिकतर्फ सांसद बनेकी मोडल तथा मिस टिन २००६ खुस्बु ओलीलाई पार्टीले प्रमुख सचेतक बनाएको छ।
पार्टी केन्द्रीय कार्यालयमा अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थितिमा बसेको बैठकले ओलीलाई प्रमुख सचेतक नियुक्त गरेको हो। राप्रपाले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १ र समानुपातिकमा ४ सिट पाएको छ।

झापाको सुरुङगाकी ओली मोडलिङसंगै समाजसेवामा पनि सक्रिय रहँदै आएकी छन्। बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय द्वन्द्व व्यवस्थापनमा स्नातकोत्तर गरेकी उनले काठमाडौंको विशालनगरमा सेल्टर आश्रय स्थापना गरी सडक बालबालिकालाई आश्रय उपलब्ध गराउँदै आएकी छन्। उनले उल्लेखनीय सामाजिक कार्यका लागि सन् २०१८ मा एएफसी ड्रीम एसिया अवार्डअन्तर्गत १० हजार अमेरिकी डलरसहित प्रतिष्ठित सम्मान प्राप्त गरेकी थिइन्।