दुई पटक पालिका अध्यक्ष भएको उम्मेदवारको मत नब्बे मात्र

2.54k
Shares

उदयपुर ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाको अध्यक्ष पदबाट राजिनामा दिएर उदयपुरको २ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवारी दिएका मेजर कुमार राईले जमानत त गुमाए तर उनले ९६ हजार १ सय मतदाता मध्ये मतदान गर्ने४५ हजार ३ जनाबाट सदर भएको मत ४२ हजार १ सय ८५ भित्रबाट जम्मा ९० मत मात्र पाएका छन् ।

आफू जस्तो जनप्रमी, विकासवादी,जनताको समस्या बुझेको, इमान्दार सबै काम गर्न सक्ने पहुँच भएको ठान्ने उम्मेदवार राई नेपाली कम्युनिष्ट पार्टीका पालिका स्तरका नेता हुन् । तर नेकपाका आधिकारिक उम्मेदवार सुरेश राई (हिमाल)को विरुद्धमा उमेदवारी दिएका कारण पार्टीको कार्वाहीमा परेका छन ।

सडक निर्माणकालागि प्राप्त बजेट फ्रिज गराएको, गफ चाहिंँ ठूला गर्ने तर काम नगनर्,े पालिकाको बजेट खर्च गर्न नसक्ने, गरेको खर्च पनि बेरुजुमा पार्ने गरेको स्थानीयले आरोप लगाएका छन् । २०७४ र २०७९ सालमा पालिका अध्यक्षमा निर्वाचित उनले पाएको ९० मत पनि उनका आफन्त, नाता, गोताबाटमात्र प्राप्त गरेको भन्ने यतिबेला व्यापक चर्चाको विषय बनेको छ ।

२०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा मेजर राईले २०५१ मत पाएर पालिका अध्यक्ष निर्वाचित भएका थिए । त्यतिबेला लिम्चुङबुङको मतदाता संख्या ८ हजार ४ सय ९४ थियो भने २०८२ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदाताको संख्या ८ हजार ६ सय ८९ जना रहेकोमा उनले पालिका अध्यक्ष भएर पनि जम्मा ९० मत मात्र पाउनु भनेको अहिलेको अवस्थामा पालिकाबाट नै पूर्ण रुपले तिरस्कृत हुनु हो र अबको उनको राजनीतिक भविष्य नै सकिएको भन्ने चर्चा पनि चलेको छ ।

पहिले ब्रिटिस गोर्खा सेनामा भर्ना भएको र त्यो जागिर छाडेर माओवादी आन्दोलनमा सरिक भएर त्यही पृष्ठभूमिमा कारण तत्कालिन नेकपा (माओवादी केन्द)का तर्फबाट २०७४ र २०७९ मा दुई पटकसम्म पालिका अध्यक्ष जितेका मेजर राईले संघीय संसदको निर्वाचनमा उदयपुरको २ नं क्षेत्रबाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार बन्न हालको नेपाली कम्युनिष्ट पार्टीबाट टिकट माग गरेकोमा पार्टीले टिकट नदिएकोले नेकपाको आधिकारिक उम्मेदवार सुरेश राई (हिमाल) का विरुद्धमा बागी भएर उम्मेदवारी दर्ता गराएका थिए ।

पूर्व पालिका अध्यक्ष राईले आफ्नो पालिकाबाट जम्मा ३४ मत मात्र पाएको मतगणना तथ्याङ्कबाट देखिन्छ । जम्मा ५ वटा वडा रहेको लिम्चुङबुङ गाउँपालिकाबाट उनले आफ्नो घर भएको वडा साविक बाँसबोटे गाविस वडा नं १ बाट २० मत , साविक ताम्लिछा गाविस रहेको २ नं वडाबाट १० मत, साविक बाराहा गाविस हालको ३ नं वडाबाट (जहाँ पालिका केन्द्र पनि रहेको छ) जिरो मत पाएका छन् ।

साविक बलम्ता गाविस हालको ४ नं वडाबाट २ मत र साविक जाँते गाविसको हालको ५ नं वडाबाट २ मत मात्र पाएर हार व्यहोरेका छन् । उनले आफ्नो पालिकाबाट ३४ मत र अन्य पालिकामा रहेका आफन्त नातागोताबाट ५६ मत गरी कुल ९० मत पाएर पालिका अध्यक्ष जस्तो गरिमामय पदको प्रतिष्ठा नै गुमाएको अहिले उदयपुरका मतदाताहरु विचमा व्यापक चर्चाको विषय बनेको छ ।