भालुबाट अन्न जोगाउन घरको ढोकामा काँटी ठोकिएको पिर्का !

0
Shares

दोलखा।

दोलखाको हिमाली गाउँ लाप्चीमा भालुले दुख दिनथालेपछि स्थानीयले घरको ढोकामा फलामे काँटीको पिर्का राख्न थालेका छन् । घरमा मानिस नभएको मौकामा भालु घरभित्र पसेर उबद्रो गर्नथालेपछि घरेलु प्रविधि फलामे काँटीको पिर्का राख्न थालिएको स्थानीय बताउँछन् ।

दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ मा पर्ने लाप्ची चीनको तिब्बतसंग सिमाना जोडिएको हिमाली गाउँ हो । चिसो मौसममा लाप्चीमा बस्न नसकिने भएकोले यहाँका बासिन्दाको वडा नम्बर– १ कै लुम्नाङमा दोस्रो घर पनि रहेको छ । 

हरेक बर्ष मंसिर देखी चैत्रसम्म चिसोका कारण दोस्रो घर लुम्नाङ झर्दा लाप्चीको घरमा भालु पसेर अन्नपात नोक्सान गर्ने भएकोले पिर्कामा फलामे काँटी ठोकेर बनाईएको घरेलु प्रविधि ढोकामा राख्ने गरिएको स्थानीय कुन्जु नोर्वु शेर्पाले बताए । 

चिसो छल्न दोस्रो घर लुम्नाङ झर्दा लप्चीको घरमा झ्यालहरु मजबुदसंग बन्द गर्ने र ढोकामा फलामे काँटी सहितको पिर्का राख्ने गरिएको कुन्जुको भनाई छ । यो घरेलु प्रविधि प्रयोग गर्न थालेपछि भालु आतङ्क कम भएको स्थानीय बताउँछन् । 

लाप्ची गाउँमा २६ वटा घर रहेका छन् । २०७२ सालको भुकम्प पछि बनेका लाप्चीका अधिकांश घरहरु होचा भएकोले भालुलाई घरभित्र पस्न सजिलो भएको स्थानीय बताउछन् । चिसो मौसममा दोस्रो घर लुम्नाङ झर्दा सबै अन्नपात लान सम्भव छैन, स्थानीय कुन्जु नोर्वु शेर्पा भन्छन् – त्यसैले अन्नपात जोगाउन घरको ढोकामा फलामे काँटी सहितको पिर्का राख्ने गरेका हौ ।

मंसिरदेखि  चैत्रसम्म लाप्चीका सबै स्थानीय लुम्नाङ झर्ने भएपछि गाउँ पुरै खाली हुने गरेको छ । यो मौसममा उनीहरु अन्नपात आवश्यक भएको बेलामा मात्र माथि उक्लने गरेका छन् ।