काठमाडौं ।
चालू आर्थिक वर्षको सात महिनामा कुल वस्तु व्यापार घाटा १०.९ प्रतिशतले वृद्धि भई ९ खर्ब ५५ अर्ब ३४ करोड रुपियाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १५ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.९ प्रतिशत रहेको थियो ।
चालू आर्थिक वर्षको सात महिनामा कुल वस्तु निर्यात ३२.२ प्रतिशतले वृद्धि भई १ खर्ब ६८ अर्ब १५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ४६.५ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत रअन्य मुलुकतर्फको निर्यात क्रमशः ४०.३ प्रतिशत र ९.४ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५५.३ प्रतिशतले कमी आएको छ ।
वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, जुत्ता तथा चप्पललगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामान तथा अन्य हस्तकलालगायतका वस्तुको निर्यात घटेको छ ।
त्यस्तै कुल वस्तु आयात १३.६ प्रतिशतले वृद्धि भई ११ खर्ब २३ अर्ब ४९ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १०.१ प्रतिशतले वृद्धि भएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत, २२.३ प्रतिशत र २९.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, सुनलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, दाल, एम.एस.विलेट, एम.एस. तार, छड, बार, क्वाइललगायतका वस्तुको आयात घटेको छ ।
कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६९.७ प्रतिशत, २९.३ प्रतिशत र १ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ६१.८ प्रतिशत, ३७.४ प्रतिशत र ०.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भएको कुल आयातमा अन्तिम उपभोग्य, मध्यवर्ती र पुँजीगत वस्तुको अनुपात क्रमशः ३७.० प्रतिशत, ५३.८ प्रतिशत र ९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ३९.९ प्रतिशत, ५१.२ प्रतिशत र ८.९ प्रतिशत रहेको थियो । वार्षिक विन्दुगत आधारमा माघ महिनामा भन्सार तथ्यांकमा आधारित निर्यातको एकाइ मूल्य सूचकांकमा २.१ प्रतिशतले र आयात मूल्य सूचकांक ०.६ प्रतिशतले वृद्धि भएको छ ।











प्रतिक्रिया