उदयपुरका दुवै क्षेत्रमा समानुपातिक मतमा घण्टी पहिलो

658
Shares

उदयपुर ।

 यही फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा उदयपुरका दुवै क्षेत्रमा घण्टी चुनाव चिन्ह भएको रास्वपाले पहिलो स्थान ल्याएको छ ।

जिल्ला निर्वाचन कार्यालय उदयपुरका जिल्ला निर्वाचन अधिकृत दिपक दाहालले दिएको जानकारी अनुसार रास्वपाले उदयपुरको दुवै निर्वाचन क्षेत्रबाट अन्य दलकोभन्दा सबैभन्दा बढी मत ल्याएर पहिलो भएको हो ।

उदयपुरको दुवै निर्वाचन क्षेत्रको कुल मतदाता २ लाख ४१ हजार ९सय ९९ रहेकोमा १ नं मा १ लाख ४५ हजार ८७७ जना र २ नं मा ९६ हजार १ सय २२ जना मतदाता रहेका छन् । समानुपातिक मत तर्फ १ न.मा ८० हजार १सय २० मत खसेकोमा सदरमत ७६ हजार ३२ रहेको छ भने बदरमत ४ हजार ८८ रहेका छ ।  २ नं क्षेत्रमा ९६ हजार १ सय २२ मतदाता मध्ये ४५ हजार ७३ मत खसेकोमा सदरमत ४२ हजार१ सय ८८ र बदरमत २ हजार ८ सय ८५ रहेका छ ।

फागुन २२ गते बिहानबाट भएको मतगणना सोमबार बिहान साँझ सकिएकोमा उदयपुरको दुवै क्षेत्रबाट समानुपातिक मतमा उदयपुरको निर्वाचन क्षेत्र नं १ मा रास्वपाले सबैभन्दा बढी ३३ हजार ८ सय १३ मत र निर्वाचन क्षेत्र नं २ बाट १६ हजार ८ सय १ मत गरी जम्मा ५० हजार ६ सय १४ मत ल्याएर पहिलो सथान ल्याएको जिल्ला निर्वाचन अधिकृत दाहालले बताए । 

रास्वपाले प्रत्यक्ष तर्फ पाएको मतभन्दा समानुपातिकमा ३ हजार ३ सय २३ मत बढी पाएको छ ।
समानुपातिक मत पाउने दोश्रो नम्बरमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी रहेको छ । सो पार्टीले उदयपुरको १ न क्षेत्रमा ११ हजार ६ सय ६ मत र २ नं निर्वाचन क्षेत्रमा ४ हजार ९ सय ९२ मत गरी जम्मा १६ हजार ५सय ९८ मत पाएर दोश्रो स्थानमा रहेको छ ।

यसैगरी नेकपा एमालले समानुपातिक मतमा तेस्रो स्थान ल्याएको छ । एमालेले १ नं निर्वाचन क्षेत्रमा ९ हजार १ सय ४१ र २ नं निर्वाचन क्षेत्रमा ६ हजार ५ सय २४ गरी जम्मा १५ हजार ६ सय ६५ मत ल्याएर तेस्रो स्थानमा झरेको छ । चौथो स्थानमा नेपाली कांंग्रेस रहेको छ । नेकाले १  निर्वाचन क्षेत्रबाट ८ हजार ७ सय ९९ र २ नं क्षेत्रबाट ५ हजार ८ सय १८ प्रापत गरेको छ । नेकाले समानुपातिक मत दुवै क्षेत्रबाट १४ हजार ६ सय १७ मत प्राप्त गरेको छ ।

यसैगरी पाँचौ स्थानमा नेपाली कम्युनिष्ट पार्टी रहेको छ । नेकपाले उदयपुरको १ नं क्षेत्रमा ६ हजार ३१ र २ नं क्षेत्रमा ४ हजार ६ सय ९५ मत गरी जम्मा १० हजार ७ सय २६ मत प्राप्त गरेर पाँचौ स्थानमा खुम्चिन बाध्य भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले १ नं क्षेत्रमा समानुपातिक मत २ हजार ३ र २ नं क्षेत्रबाट ५ सय गरी २ हजार ५ सय ३ मत प्राप्त गरेको छ । राष्ट्रिय परिवर्तन पार्टीले १ नं निर्वाचन क्षेत्रमा ६सय ३१ र २ नं निर्वाचन क्षेत्रबाट ६ सय ७ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत दाहालले बताउनु भयो ।

उदयपुरको १ नं निर्वाचन क्षेत्रमा १ जना स्वतन्त्र सहित १८ जना उम्मेदवार चुनावी मैदानमा थिए भने २ नं क्षेत्रमा पनि १ जना स्वतन्त्र सहित १३ जना उम्मेदवार चुनावी मैदानमा रहेका थिए ।

उदयपुरको १ नं क्षेत्रमा जम्मा ५७ वटा राजनीतिक दलले निर्वाचनमा समानुपातिक मत पाएका छन् भने २ न. निर्वाचन क्षेत्रबाट पनि ५७ वटै राजनीतिक दलले समानुपातिक मत पाएका छन् ।