रुपन्देहीमा कांग्रेस-एमालेसहित १४३ उम्मेदवारको जमानत जफत


बुटवल। 

प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ रुपन्देहीमा प्रमुख दलका र स्वतन्त्र गरी १४३ जना उम्मेदवारको जमानत जफत भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले क्लिनस्वीप गर्दा प्रमुख दलका लोकप्रिय अनुहारले समेत जमानत जोगाउन सकेनन् । 

निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एमालेका निवर्तमान सांसद लोकप्रिय नेता वासुदेव घिमिरेको समेत जमानत जफत भएको छ । मुलुक संघीयतामा गएपछि तिलोत्तमा नगरपालिकाको नगर प्रमुख भएर देशकै नमुना पालिका बनाएका घिमिरेले रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका थिए । यसअघि रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित भएका घिमिरेले आफ्नो लोकप्रिय पहिचानका बाबजुद पनि अपेक्षित मत प्राप्त गर्न सकेनन् ।  घिमिरले फागुन २१ को निर्वाचनमा आफ्नो जमानत जोगाउन सकेनन् । यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा. लेखजंग थापाले ५८ हजार ८१४ मतसहित विजयी भएका थिए । घिमिरेसंगै ३५ जना उम्मेदवारकै जमानत जफत भएको हो ।  रुपन्देही ३ मा नेपाली काँग्रेसका सुशिल गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका गौरव बोहरा, नेकपाका फैजअहमद खाँ लगायत लोकप्रिय अनुहारले कूल सदर मत ९० हजार ३०५ को १० प्रतिशत प्राप्त गर्न नसक्दा जमानत जफत भएको हो । 

रुपन्देही–३ बाट उम्मेदवार बनेका ५ जना उम्मेदवारले एक मत पनि प्राप्त गरेका छैनन् । जसमा विष्णुप्रसाद बस्याल, विमला भट्टराई, बालकृष्ण ज्ञवाली, दिलीप कुमार सुनार र टिकाबहादुर क्षेत्री रहेका छन् ।  

यसैगरी रुपन्देही क्षेत्र नम्बर १ मा रास्वपाकै सुनिल लम्सालले ५४ हजार ८४५ मतसहित विजयी हासिल गर्दा नेकपा एमालेका दधिराम न्यौपाने सहित २९ जनाको जमानत जफत भएको छ । नेपाली काँग्रेसका हिरा केसीले भने हार टार्न नसके पनि जमानत जोगाएका छन् । 

रुपन्देही क्षेत्र नम्बर २ मा कूल सदर मत ७८ हजार ४१३ मध्ये १० प्रतिशत नकटाउने ३६ जनाको जमानत जफत भएको छ । मुलुकका चर्चित निर्वाचन क्षेत्रहरु मध्ये चर्चामा रहेको यस क्षेत्रमा पूर्व अर्थमन्त्री एमाले उपाध्यक्ष विष्णु पौडेल पराजित भएका थिए । 

रुपन्देही क्षेत्र नम्बर ४ मा १९ जना उम्मेदवारको जमानत जफत भएको छ । यस क्षेत्रबाट रास्वपाका कन्हैया बनिया निर्वाचित भएका छन् । यस क्षेत्रमा जसपाका सर्वेन्द्रनाथ शुक्ला, जनमत पार्टीका भोपेन्द्रप्रसाद यादव लगायत चर्चित अनुहारले जमानत जोगाउन सकेनन् । 

रुपन्देही क्षेत्र नम्बर ५ मा रास्वपाका तौफिक अहमद खानले ३८ हजार ८०६ मतसहित विजयी हुँदा २४ जना उम्मेदवारको जमानत जफत भयो । यस क्षेत्रमा नेकपाका मुहम्मद वकिल मुसलमान, जनमत पार्टीका ओमप्रकाश यादव, राप्रपाका मिनप्रसाद घिमिरे लगायत चर्चित अनुहारले जमानत जोगाउन सकेनन् ।