फोटो पत्रकारिताबाट विश्व कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठ

१३ दिनमा तीन पटक सगरमाथा आरोहण र गिनिज वर्ल्ड रेकर्ड

94
Shares

गोरखाको आरुघाटका शान्त पहाडहरू, जहाँ बिहानको कुहिरो सिँढीदार खेतबारीमाथि बिस्तारै फैलिन्छ र बुढीगण्डकी नदीको मधुर आवाजसँगै बाल्यकालका सपनाहरू हुर्किन्छन्, त्यहीँ एउटा साधारण केटी पूर्णिमा श्रेष्ठ हुर्केकी थिइन् । त्यो सानो गाउँको गोरेटो बाटोमा दौडिँदा उनले कहिल्यै सोचेकी थिइनन् कि एक दिन उनको पाइलाले पृथ्वीको सर्वोच्च स्थान अर्थात् सगरमाथाको चुचुरोमा टेक्नेछ भनेर । सानो छँदा आकाशमा उडिरहेको चील देख्दा जति कौतूहलता जाग्थ्यो, त्यस्तै कौतूहलता बोकेर उनी काठमाडौँ छिरेकी थिइन् । तर, जीवनले कहिलेकाहीँ यस्तो मोड लिन्छ, जहाँ असम्भव जस्तो लाग्ने कल्पना पनि वास्तविकतामा बदलिन्छ । पूर्णिमाको जीवनयात्रा पनि त्यस्तै अनपेक्षित मोडबाट सुरु भएको एउटा अद्भुत र रोमाञ्चक साहसिक कथा हो, जहाँ क्यामेराको लेन्स समात्ने कोमल हातले एक दिन हिउँ काट्ने तिखो ‘आइस–एक्स’ समात्यो । अनि एउटी फोटो पत्रकारको पहिचानले विश्व कीर्तिमानी पर्वतारोहीको रूप लियो । आज उनी केवल नेपालको मात्रै होइन, संसारभरका साहसी महिलाहरूका लागि एउटा जीवन्त प्रेरणाको प्रतीक बनेकी छन्, जसले सपनाको कुनै सीमा हुँदैन भन्ने प्रमाणित गरेकी छन् ।

पूर्णिमाको यात्रा सानैदेखि हिमाल चढ्ने सपना बोकेकी कुनै बालिकाको कथा होइन । उनको पहिलो प्रेम क्यामेरा र दृश्यहरूसँग थियो । गाउँको सामान्य स्कुले जीवन सकेर उनी पत्रकारिता पढ्न काठमाडौँ आइन् र फोटो पत्रकारको रूपमा आफ्नो करियर सुरु गरिन् । कारोबार दैनिक र बाह्रखरी जस्ता मिडिया संस्थाहरूमा काम गर्दै उनले नेपालका हजारौँ कथाहरू क्यामेरामा कैद गरिन् । कहिले संसद् भवनका तातो बहस, कहिले सडकका आन्दोलन, त कहिले गाउँका गरिबको मलिन अनुहार, यी सबै दृश्यहरू उनको लेन्सबाट संसारले देख्यो । एक दशकसम्म उनी अरूका कथा खोज्दै देशका कुना–कन्दरामा घुमिरहिन् । तर, उनलाई पत्तो थिएन कि नियतिले उनको लागि अर्कै ठूलो क्यानभास तयार पारिरहेको छ भनेर । सन् २०१७ मा एउटा सामान्य असाइनमेन्टको सिलसिलामा उनी सगरमाथा आधार शिविर पुगिन् । पहिलोपटक सगरमाथालाई यति नजिकबाट नियाल्दा उनलाई हिमालहरू केवल पत्थर र हिउँका थुप्रो मात्र होइनन्, यिनीहरू त आत्मा भएका जीवित अस्तित्व हुन् भन्ने महसुस भयो । त्यही क्षण उनको मनभित्र एउटा इच्छा प्रस्फुटन भयो । उनले क्यामेराको फ्रेममा हिमाललाई मात्र कैद गर्न चाहिनन्, बरू हिमालको काखमा आफूलाई नै कैद गर्न खोजिन् । त्यो दिनपछि हिमालप्रेम उनको लागि दृश्य कैद गर्ने मात्र रहेन, जीवनको लक्ष्य बन्यो ।

पर्वतारोहणको कुनै आधारभूत तालिम समेत नभएकी एउटी युवतीले संसारकै अग्लो शिखर चढ्ने निर्णय गर्दा धेरैले ‘पागलपन’ को संज्ञा दिए । कसैले हाँसीमजाक गरे त कसैले ‘ज्यान फाल्न हिँडेकी’ भन्दै निरुत्साहित गरे । तर, पूर्णिमाको दृढता ती अविश्वासका पर्खालहरूभन्दा धेरै अग्लो थियो । उनले सन् २०१७ मा मनास्लु हिमाल चढेर आफ्नो क्षमता परीक्षण गरिन् । ८ हजार मिटरभन्दा माथिको त्यो संसारले उनलाई पहिलोपटक मृत्युको चिसो स्पर्श र जीवनको मूल्यसँग परिचित गरायो । त्यहाँ हावा यति पातलो हुन्छ कि मानौँ हरेक श्वास लिनका लागि पनि प्रकृतिसँग संघर्ष गर्नुपर्छ । तर, हिमाल चढ्नुभन्दा कठिन त समाजको अविश्वास र आर्थिक अभावसँग लड्नु थियो । प्रायोजकहरू एउटी नयाँ केटीमाथि लगानी गर्न हिचकिचाए । तर, पूर्णिमाले हार मानिनन् । उनले आफ्ना जायजेथा मात्र होइन, साथीभाइबाट ऋण लिएर अभियान सुरु गरिन् । एभरेष्ट चढ्ने तयारीका लागि उनी एउटा सानो टिफिन बक्स बोकेर गाउँ–गाउँ पुगिन् । विद्यालय, संघसंस्था र व्यक्तिहरूसँग उनले स–साना सहयोग मागिन् । त्यो दृश्य अत्यन्त भावुक र हृदयविदारक थियो । एउटी युवती, जो विश्वको शिखरमा नेपालको झन्डा फहराउने अठोट बोकेकी छिन्, तर उनको हातमा केवल एउटा सहयोग माग्ने सानो भाँडो छ ।

सपना कहिलेकाहीँ यस्तै विनम्र र कठिन सुरुवातबाट सुरु हुन्छ । सन् २०१८ को वसन्त ऋतुमा पूर्णिमाले पहिलोपटक सगरमाथाको शिखरमा पाइला राखिन् । ८,८४८ मिटरको उचाइमा उभिँदा उनलाई लाग्यो कि बादलहरू उनका पैतालामुनि खेलिरहेका छन् र संसार नै एउटा सानो बिन्दुमा खुम्चिएको छ । त्यहाँको हावामा एउटा बेग्लै आध्यात्मिक सुगन्ध थियो । उनले आफ्नो सफलतालाई फोटो पत्रकारको रूपमा होइन, एउटी पर्वतारोहीको रूपमा महसुस गरिन् । त्यसपछि उनको यात्रा रोकिएन । सन् २०१९ मा उनले प्राविधिक रूपमा अत्यन्त जटिल मानिने आमाडब्लाम हिमाल चढिन् । त्यसपछि २०२१ मा अन्नपूर्ण–१ र धौलागिरी जस्ता संसारकै खतरनाक हिमालहरूमा पाइला टेकिन् । धेरैलाई थाहा नहुन सक्छ, अन्नपूर्णमा मृत्युदर यति धेरै छ कि त्यहाँ जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु सरह हो । तर, पूर्णिमाको साहस हिम चट्टानभन्दा कडा हुँदै गयो । सन् २०२२ मा त उनले पर्वतारोहणको इतिहासमै एउटा सनसनीपूर्ण कीर्तिमान बनाइन् । मात्र २२ दिनको छोटो अवधिमा कञ्चनजंघा, ल्होत्से र मकालु जस्ता तीन विशाल हिमालहरू चढेर अद्भुत साहस प्रदर्शन गरिन् । यो उपलब्धिले अन्तर्राष्ट्रिय पर्वतारोहण समुदायमा उनको नाम सुनौलो अक्षरले लेखियो ।

तर, पूर्णिमाको चुनौती नेपालका सीमामा मात्र सीमित रहेन । सन् २०२३ मा उनी पाकिस्तानको काराकोरम हिमशृङ्खला पुगिन् । त्यहाँ उनले विश्वको दोस्रो अग्लो तथा सबैभन्दा क्रूर मानिने के–टु हिमालको सामना गरिन् । यो हिमाललाई ‘स्याभेज माउन्टेन’ अर्थात् ‘जङ्गली हिमाल’ भनिन्छ, किनकि यसले धेरैको इहलीला समाप्त पारिसकेको छ । त्यहाँको कठिन बनावट र अनिश्चित मौसमले उनलाई धेरै पटक कमजोर बनाउन खोज्यो, तर उनी शिखर पुगेरै छाडिन् । त्यही वर्ष उनले मनास्लु दोस्रो पटक आरोहण गरिन्, त्यो पनि कुनै कृत्रिम अक्सिजनको सहायताबिना । अक्सिजनबिना ८ हजार मिटरमा बाँच्नु भनेको विज्ञानलाई नै चुनौती दिनु हो, जहाँ मस्तिष्कका कोषहरू मर्न थाल्छन् र शरीरले साथ छोड्न खोज्छ । तर, उनको इच्छाशक्तिले उनलाई जीवन्त राख्यो । सबैभन्दा ठूलो र ऐतिहासिक चमत्कार त सन् २०२४ मा भयो, जसले उनलाई गिनिज वल्र्ड रेकड्र्सको शिखरमा पु¥यायो । त्यो वर्ष पूर्णिमाले सगरमाथाको काखमा एउटा यस्तो कीर्तिमान रचिन् । जुन सुन्दा पनि अकल्पनीय लाग्छ । उनले मात्र १३ दिनभित्र तीनपटक सगरमाथाको शिखर चुमिन्, मे १२, मे १९ र मे २५ मा । खुम्बु आइसफलको खतरनाक मार्ग, जहाँ बरफका ठुला थुप्राहरू कुनै पनि बेला खस्न सक्छन्, त्यही बाटो भएर उनले बारम्बार शिखर टेकिन । एउटै सिजनमा महिलाद्वारा सगरमाथाको सर्वाधिक आरोहणको यो विश्व कीर्तिमानले नेपाली नारी शक्तिको गौरवलाई विश्वभर उजागर गरिदियो । जब उनले गिनिज वल्र्ड रेकर्डको प्रमाण पत्र हातमा थापिन्, उनको आँखामा खुसीको आँसु थियो । त्यो आँसुमा गोरखाको आरुघाटको बाल्यकाल, काठमाडौँको संघर्ष, टिफिन बक्स बोकेर मागेको सहयोग र हिमालको चिसो सिरेटोका सबै कथा मिसिएका थिए ।

पूर्णिमाका लागि हिमाल केवल कीर्तिमान बनाउने थलो होइन । उनी प्रायः भन्छिन्, “म रेकर्डका लागि हिमाल चढ्दिनँ, म त हिमाललाई माया गर्छु र हिमालले मलाई बोलाउँछ ।” सायद यही प्रेमले उनलाई २०२५ मा पाँचौँ पटक सगरमाथाको शिखरमा पु¥यायो । हालसम्म उनले १३ पटक ८ हजार मिटरभन्दा माथिका शिखरहरू चुमिसकेकी छन् । यति ठूलो उचाइमा पुगेर पनि उनी उत्तिकै विनम्र छिन् । उनी आफ्नो सफलताको श्रेय आफ्ना शेर्पा गाइडहरूलाई दिन्छिन्, जसलाई उनी आफ्नो यात्राको वास्तविक देउता मान्छिन् । उनले देखेको हिमाल सधैँ सुन्दर मात्र छैन, यो डरलाग्दो पनि छ । उनले आफ्नै आँखैअगाडि साथीहरू हराएको, हिमपहिरोले मानिसलाई निलेको र जीवन एक पलमै समाप्त भएको देखेकी छन् । तर, त्यही डरले उनलाई जीवनको हरेक पललाई उत्सवको रूपमा मनाउन सिकाएको छ । फोटो पत्रकारको तीक्ष्ण आँखाले उनले अर्को एउटा पीडादायी सत्य पनि देखेकी छन्, त्यो हो जलवायु परिवर्तन । हिमनदीहरू पग्लिएर काला पत्थरहरू देखिन थालेका छन् । सगरमाथाको आधार शिविरमा पहिले हिउँको बाक्लो तह हुन्थ्यो, तर अहिले त्यहाँ ढुङ्गा र हिलो देखिन थालेका छन् । उनलाई क्याम्प–२ मा बरफमुनि बग्ने गरेको पानीको आवाज सुन्दा मुटु फुट्ला जस्तो हुन्छ । त्यसैले उनी अहिले एउटी आरोही मात्र होइनन्, हिमालयको रक्षाका लागि आवाज उठाउने एउटी अभियन्ता पनि हुन् । उनी आफ्नो क्यामेरा अझै बोकेर हिँड्छिन्, ताकि संसारले यो परिवर्तनलाई देख्न सकोस् र हाम्रा हिमालहरू जोगिन सकून् ।

पूर्णिमाको यात्रा अझै सकिएको छैन । उनको लक्ष्य अब पृथ्वीका सबै १४ वटा ८ हजार मिटरभन्दा अग्ला हिमालहरू चढ्ने हो । अझै केही शिखरहरू बाँकी छन्, तर उनलाई थाहा छ कि अबको बाटो झन् कठिन हुनेछ । तर, जसले टिफिन बक्स बोकेर सगरमाथाको यात्रा सुरु ग¥यो, उसलाई कुनै पनि पहाडले रोक्न सक्दैन । उनी चाहन्छिन् कि पर्वतारोहण केवल पुरुषहरूको एकाधिकार नबनोस् र पहाडका फेदीमा बस्ने हरेक छोरीले शिखर चुम्ने आँट गरुन् । उनी ती महिलाहरूका लागि आवाज बन्न चाहन्छिन् जो घर र परिवारको जिम्मेवारीमा बाँधिएका छन् तर मनभित्र सगरमाथा जस्तै विशाल सपना बोकेका छन् । पूर्णिमा आफैमा एउटा सपना देख्न कहिल्यै नडराउनु भन्ने शक्तिशाली सन्देश हो । चाहे कसैको पृष्ठभूमि जस्तोसुकै होस्, चाहे स्रोत र साधन नहोस्, यदि एउटा बलियो संकल्प छ भने सारा ब्रह्माण्डले साथ दिन्छ । गोरखाको एउटा सानो गाउँबाट सुरु भएको यो यात्रा आज संसारको सबैभन्दा अग्लो चुचुरोमा पुगेर मुस्कुराइरहेको छ । इतिहास लेख्नका लागि ठूलो शक्ति वा असीमित धन होइन, केवल एउटा सानो र दृढ निर्णय पर्याप्त हुन्छ । हिमालको फेदीमा उभिएर आफूलाई भनिएको एउटै वाक्य “म यो चढ्नेछु र जित्नेछु”, यही निर्णयले एउटी फोटो पत्रकारलाई विश्व कीर्तिमानी पर्वतारोही बनायो । र, यही संकल्पले नेपाली नारी शक्तिको एउटा नयाँ र स्वर्णिम अध्याय लेख्यो । पूर्णिमा श्रेष्ठ अहिले केवल एउटा नाम मात्र होइन, उनी एउटा आँट हुन्, एउटा विश्वास हुन् र सबैले गर्व गर्न मिल्ने एउटा उज्यालो नक्षत्र हुन् ।