हिमालयको त्यो विशाल काख, जहाँ हावा पनि ठोक्किएर फर्कन्छ र हिउँका कणहरूले इतिहासमा नलेखिएका रहस्यहरू फुसफुसाउँछन्, त्यहीँ एउटा यस्तो नाम छ जुन आज पनि पहाडका कन्दराहरूमा प्रतिध्वनित भइरहेको छ । त्यो ओजिलो नाम हो तेजवीर बुढा । यो केवल एउटा नाम मात्र होइन, यो त एउटा बिर्सिएको गौरवको जीवन्त दस्तावेज हो । एउटा यस्तो नेपालीको कथा जसले शीतकालीन ओलम्पिकमा पहिलो पटक नेपालको झन्डा गाडेको थियो । तर बिडम्बना, उनको आफ्नै देशले उनलाई इतिहासको अँध्यारो कुनामा थन्क्याइदियो । जब हामी साहसिक खेलको कुरा गर्छौँ, हामी प्रायः हिमाल आरोहीहरू र उनीहरूका अत्याधुनिक उपकरणहरूको चर्चा गर्छौँ । तर, करिब एक शताब्दीअघि जब न त सुरक्षित डोरीहरू थिए, न त भरपर्दा अक्सिजनका सिलिन्डरहरू, न त कुनै भरपर्दो औजार, तब एउटा गोर्खा सिपाहीले आफ्नो ज्यानको बाजी लगाएर सगरमाथाको त्यो उचाइमा पाइला टेकेको थियो जहाँ पुग्ने कल्पना मात्रले पनि त्यतिबेला मानिसको मुटु काम्थ्यो ।
नेपालको एउटा दुर्गम गाउँको धुलोमा खेलेर हुर्किएका तेजवीरको नसामा पहाडी रगत बगेको थियो । उनलाई थाहा थिएन कि एक दिन उनले यस्तो इतिहास रच्नेछन् जसलाई संसारले सम्मान गरेपनि उनको आफ्नै माटाले बिर्सनेछ भनेर । जब उनी ब्रिटिस इन्डियन आर्मीको छैठौं गोर्खा राइफल्समा “लान्स नायक” को पदमा रहँदा उनले सैन्य अनुशासन मात्र सिकेनन्, मृत्युको आँखामा आँखा जुधाएर मुस्कुराउन पनि सिके । सन् १९२२ मा त्यो ऐतिहासिक घडी आयो, जब बेलायतीहरूले सगरमाथाको उचाइलाई नाप्ने साहस गरे । त्यो ब्रिटिस माउन्ट एभरेस्ट एक्सपेडिसन टोलीमा एउटा यस्तो हिरा छानियो जसको चमकले पछि ओलम्पिकको स्वर्ण पदक नै चूम्यो । चाल्र्स ग्रानभिल ब्रुसको नेतृत्वमा रहेको त्यो टोलीका लागि तेजवीर केवल एक सहयोगी मात्र थिएनन्, उनी त त्यो टोलीका मेरुदण्ड थिए । जसको बलियो काँधमा ती विदेशी आरोहीहरूको सपना टिकेको थियो ।
सन् १९२२ को मे २७ तारिख । त्यो दिन सायद हिमालयले पनि आफ्नो गौरवको नयाँ परिभाषा लेखिरहेको थियो । हावा यति चिसो थियो कि रगत नै जम्ला जस्तो, र अक्सिजनको अभावले फोक्सोहरू हावाका लागि तड्पिरहेका थिए । तर, तेजवीरका पाइलाहरू रोकिएनन् । उनी ७,९२५ मिटरको त्यो उचाइमा पुगे, जहाँ पुग्नु भनेको त्यस समयका लागि अर्को ग्रहमा पुग्नुसरह थियो । त्यहाँको सन्नाटा यति गहिरो थियो कि आफ्नै मुटुको ढुकढुकी पनि पहाडमा ठोकिएर निस्कने गर्जन जस्तो सुनिन्थ्यो । तेजवीरले जब त्यो उचाइबाट संसारलाई हेरे, उनले केवल हिउँका पहाडहरू मात्र देखेनन्, उनले त एउटा नेपालीको असीमित सम्भावनालाई देखे । त्यो क्षणमा उनी कुनै सिपाही थिएनन्, न त उनी कुनै भरिया । उनी त एउटा यस्तो योद्धा थिए जसले प्रकृतिलाई आफ्नो साहसको अगाडि घुँडा टेकाउन गइरहेका थिए । त्यो बेलाको पर्वतारोहण आजको जस्तो अत्याधुनिक औजारले भरिपूर्ण हुन्थेन, त्यो त मृत्युसँगको प्रत्यक्ष साक्षात्कार जस्तै हुन्थ्यो । तर, तेजवीर यसबाट विचलित थिएनन्, किनकि उनी आफ्नो माटाको लाज राख्नका लागि हिमालसँग जुधिरहेका थिए ।

यो बहादुरीको चर्चा जब युरोप पुग्यो, तब आधुनिक ओलम्पिकका जन्मदाता पियरे डी कुबर्टिनको हृदय पनि थर्कियो । उनले महसुस गरे कि ओलम्पिकको भावना केवल दौडिने ट्रयाक वा अन्य खेलस्थलमा मात्र सीमित छैन । वास्तविक खेल त त्यो हो, जहाँ मानिसले प्रकृतिको सबैभन्दा कठिन चुनौतीहरूलाई जितेर नयाँ सीमा तय गर्छ । यही भावनाबाट ओतप्रोत भएर सन् १९२४ को फ्रान्सको पहिलो शीतकालीन ओलम्पिकमा एउटा अभूतपूर्व निर्णय गरियो । सगरमाथा अभियानका साहसीहरूलाई ‘अल्पाइनिज्म’ मा स्वर्ण पदक दिने । सुरुमा त यो पदक टिमका केवल १२ जना बेलायती र एक जना अष्ट्रेलियाली नागरिकलाई मात्र प्रदान गरिएको थियो । तर, टोली नेता ब्रुसको अडानका कारण तेजवीर लगायत अन्य अज्ञात शेर्पा भरियाहरूलाई समेत गरी थप आठवटा पदक प्रदान गरियो । तर, हृदयविदारक कुरा के छ भने त्यो सुनौलो पदक उनले कुनै उत्सवका बीचमा हात पारेका थिएनन् । एउटा यस्तो स्वर्ण पदक, जसको चमकमा नेपालको रगत र पसिना मिसिएको थियो । तर, त्यसलाई कुनै पनि सरकारी ढड्डामा स्थान दिइएन ।
कल्पना गर्नुहोस्, एउटा मानिस जसले देशको नामलाई संसारकै प्रतिष्ठित पदकमा अंकित गरायो, ऊ जब आफ्नो घर फर्कियो, के उसलाई कसैले स्वागत ग¥यो होला त ? के उसका लागि कुनै विजय जुलुस निकालिए होला त ? अहँ, इतिहास मौन छ । तेजवीर बुढाका ती स्वर्ण पदकमय हातहरूले फेरि पनि सैन्य राइफल नै समाते । उनी बिस्तारै समयको धुलोमा हराउँदै गए । आज हामी ओलम्पिकमा एउटा कांस्य पदकको आशमा वर्षौँ कुरिरहेका छौँ, तर हाम्रो इतिहासले एउटा स्वर्ण विजेतालाई कता कता बिलाउन दियो । त्यो पदक आज बेलायतको विनचेस्टरस्थित गोर्खा संग्रहालयको शो केसमा सजिएको छ । जसले हरेक आगन्तुकलाई “मलाई जित्ने त्यो वीर नेपाली आज कहाँ छ ?” भनेर सोधिरहेको जस्तो लाग्छ ।
तेजवीर बुढाको कथाले हाम्रा असली नायकहरू को–को हुन् ? भनेर एउटा ठूलो प्रश्न खडा गर्छ । के ती मात्र हुन् ? जसको फोटो अखबारको पहिलो पानामा छापिन्छ, वा ती हुन् जसले कसैले नदेख्ने गरी हिउँको शिखरमा राष्ट्रको इज्जत जोगाए ? सन् २०१२ मा जब बेलायती आरोही केन्टन कुलले त्यो स्वर्ण पदकलाई सगरमाथाको शिखरमा पु¥याए, तब बल्ल विश्वले फेरि एकपटक तेजवीरको नाम उच्चारण ग¥यो । ९० वर्षको लामो प्रतीक्षापछि त्यो पदकले फेरि आफ्नो जन्मथलोको हावा महसुस ग¥यो । त्यो यात्रा केवल एउटा धातुको टुक्राको यात्रा थिएन, त्यो त तेजवीर बुढाको आत्माको सम्मान थियो । शिखरमा पुगेर जब कुलले त्यो पदक हावामा लहराए, सायद तेजवीरको आत्माले कतैबाट हेर्दै भनिरहेको थियो होला ढिलो भए पनि मेरो हिमालले मलाई चिन्यो भनेर । तर, के हामीले उनीप्रति न्याय गरेका छौँ ? के हाम्रा पाठ्यपुस्तकहरूमा उनको नाम छ ?
यो घटना केवल विगतको सम्झना मात्र होइन, यो त एउटा प्रेरणाको महासागर हो । तेजवीरले त्यो समयमा जुन साहस देखाए, त्यसले हामीलाई सिकाउँछ कि साधन र स्रोतको कमी कहिल्यै पनि सफलताको बाधक बन्न सक्दैन । यदि मनमा दृढ इच्छाशक्ति छ भने, एउटा सामान्य सिपाहीले पनि संसारको सबैभन्दा अग्लो चुचुरो र सबैभन्दा ठूलो पदक जित्न सक्छ । तेजवीरको स्वर्ण पदक आज पनि एउटा मौन चुनौती बनेर खडा छ, जसले भनिरहेको छ कि सफलता केवल रेकर्डमा मात्र हुँदैन, सफलता त त्यो साहस र समर्पणमा हुन्छ जुन इतिहासले पनि बिर्सन सक्दैन ।

आज जब सगरमाथाको शिखरमा सयौँ आरोहीहरू लाइन लाग्छन्, उनीहरूले बिर्सनु हुँदैन कि ती हिउँका बाटाहरू पहिलोपटक तेजवीर जस्ता वीरहरूका पाइलाले नै सम्म पारेका थिए । ती प्रत्येक पाइलामा एउटा कथा छ, प्रत्येक पसिनाको थोपामा एउटा सपना छ । तेजवीर बुढा नेपालका “बिर्सिएका नायक” हुन् । उनको नाम आधिकारिक ओलम्पिक तालिकामा नहोला, तर हिमालयको हरेक ढुङ्गा र हिउँको हरेक कणमा कुँदिएको छ । सायद, कुनै दिन इतिहासले फेरि कोल्टे फेर्नेछ र तेजवीर बुढाको नाम नेपाली खेलकुद इतिहासको पानामा स्वर्ण अक्षरले लेखिनेछ ।
तस्बिर : ओलम्पिेडिया











प्रतिक्रिया