काठमाडौं
अहमदाबादको नरेन्द्र मोदी रंगशालामा आज सहआयोजक भारत र न्युजिल्यान्डले उपाधिको लागि खेल्दैछन् । टी २० वल्र्डकपको फाइनलमा भारत लगातार दोस्रो पटक खेल्दैछ । भारत गत र पहिलो संस्करणको विजेता टोली पनि हो भने न्युजिल्यान्डले उपाधि जित्न सकेको छैन । यी दुई टोलीबीच एक संयोग के भने यस जारी प्रतियोगितामा दुबै टोली एउटै मात्रै प्रतिद्वन्द्वी दक्षिण अफ्रिकासँग पराजित भएको हो ।
भारतका लागि लगातार दोस्रो पटक उपाधि जित्ने मौका छ । साथै टोलीको लागि टी २० वर्ल्ड कपको उपाधि तीन पटक जित्ने कीर्तिमान बनाउने मौका पनि छ । तर, टी २० वल्र्डकपको इतिहासमा भने भारतले न्युजिल्यान्डलाई हराउन सकेको छैन । अहिलेसम्म भारत र न्युजिल्यान्डबीच ३ पटक आमनासामना भएकोमा तीनै पटक भारत पराजित भएको छ ।
त्यसो त भारतको ब्याटिङ निकै आक्रमक देखिएको छ । भारतले सेमिफाइनलमा इंग्ल्यान्डविरुद्ध २ सय ५३ रन बनाएको थियो । यो ब्याटिङको आधार हेर्ने हो भने भारतले पहिले ब्याटिङ गरेमा उनीहरूको लक्ष्य २ सयभन्दा बढी रन बनाउने नै हुनेछ । भारतसँग सन्जु सेमसन, हार्दिक पाण्डे, शिवम् दुबे, सूर्यकुमार यादव जस्ता आक्रमक खेलाडी छन् ।
न्युजिल्यान्डले पहिलो पटक उपाधि जित्ने हो भने भारतविरुद्ध निकै सुझबुझले प्रदर्शन गर्नु पर्ने आवश्यक छ । हुन त न्युजिल्यान्डले सेमिफाइनलमा गत संस्करणको उपविजेता टोली दक्षिण अफ्रिकालाई हराएपछि उपाधि दावेदारी देखिएको छ । तर, भारतमै हुने हुँदा न्युजिल्यान्डले उपाधि जित्न निकै कठिन हुने अनुमान रहेको छ ।
सेमिफाइनलमा दक्षिण अफ्रिकाले दिएको १ सय ७० रनको लक्ष्य न्युजिल्यान्डले मात्र १२.५ ओभरमै पूरा गरेको थियो । जसमा, ओपनर ब्याटर फिन एलेनले टी २० विश्वकपको इतिहासकै छिटो शतक पनि प्रहार गरेका थिए । उनले ३३ बलमा शतक प्रहार गरेका थिए । यदि, उनीबाट यस्तै प्रदर्शन दोहोरिएमा भने भारतलाई हराउन कुनै कठिन हुने छैन ।
न्युजिल्यान्डका कप्तान मिचेल सेन्टनरले फाइनलमा उनको टोलीभन्दा पनि भारतीय टोलीमाथि ठूलो दबाब रहनेछ । सेमिफाइनलमा २ सय ५४ रनको ठूलो लक्ष्य रक्षा गर्न भारतीय बलरहरूलाई कठिन भएकोले उनीहरूको बलिङ कमजोर रहेको उनले बताए ।
नजर सेमसनमाथि
सुृपर एटमा दक्षिण अफ्रिकासँग हारेपछि भारतको सेमिफाइनलमा पुग्न वेस्ट इन्डिजलाई हराउनै पर्ने समीकरण बनेको थियो । यस खेलका लागि सन्जु सेमसनलाई टोलीमा बोलाइएको थियो । सेमसनले ९७ रन बनाएर जित दिलाउँदै आफ्नो दायित्व पनि पूरा गरे । फेरि एकपटक सेमिफाइनलमा पनि उनले सानदार खेल देखाए । उनले इंग्ल्यान्डविरुद्ध ४२ बलमै ८९ रन जोडेर टोलीको स्कोर २ सय ५३ रनसम्म पुग्न ठूलो योगदान दिए । आजको खेलमा पनि भारतको इनिङमा उनीमाथि नै नजर हुनेछ ।











प्रतिक्रिया