दाेलखा।
प्रतिनिधि सभा सदस्य निर्वाचन- २०८२ मा दाेलखाबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । उनी दोस्रो प्रयासमा प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन् ।
२०७९ काे निर्वाचनमा करिब ३५ सय मतका साथ चाैथाे भएका खरेल याे पटक ३२ हजार २० मतका साथ विजयी भएका छन् । उनकाे निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पार्वत गुरुङले १७ हजार दुई सय ५३ मत प्राप्त गरेका छन् । गुरूङ २०७० र २०७४ काे निर्वाचनमा दाेलखाबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी पूर्व मन्त्री समेत हुन् ।
याे निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीका विशाल खड्का १२ हजार नाै सय ३१ मतका साथ तेस्राे र नेपाली कांग्रेसका अजयबाबु शिवाकाेटी १२ हजार तीन सय २५ मतका साथ चाैथाे भएका छन् ।
हरेक निर्वाचनमा बुथ कब्जाकाे अराेप खेप्दै आएकाे दाेलखामा याे पटक शान्तिपूर्ण मतदान गर्न पाएकाे स्थानीय मतदाताकाे प्रतिक्रिया रहेकाे छ । दाेलखाकाे तामाकाेशी गाउँपालिका वडा नम्बर ४ मालु मतदान केन्द्रमा विवादका कारण केही घण्टा मतदान प्रकृया राेकिएकाे भएपनि पछि शान्तिपूर्ण ढङ्गले मतदान सम्पन्न भएकाे थियाे ।
दाेलखामा शान्तिपूर्ण मतदानकाे लागि सुरक्षा व्यवस्था चुस्त गरिएको र त्याे सफल भएकाे निर्वाचन सुरक्षाकाे कमाण्ड गरेकाे नेपाली सेनाकाे गरूडदल गणका गणपति कर्णेल लाेक सागर कटुवालले बताए ।
नेपाली सेनाकाे कमाण्डमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल बीच सुरक्षा समन्वय राम्राे रहेकाे उनकाे भनाई छ ।
दुई नगरपालिका र सात गाउँपालिका रहेकाे दाेलखामा एक लाख ७० हजार तीन सय २१ मतदाता रहेका छन् । त्यसमा पुरूष ४५ हजार चार सय ५७ र महिला ३९ हजार २४ जना गरी ८४ हजार चार सय ८१ मत (४९.६० प्रतिशत) खसेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
दाेलखाकाे गाैरीशङ्कर गाउँपालिका वडा नम्बर ९ बेदिङका एक सय १३ जना मतदाताले भने दुर्गममा विरामी बाेक्न सहजै हेलिकप्टर उडाउन पाउनुपर्ने माग पूरा नभएकाेले मतदान नगरेकाे स्थानीय दावा छिरी शेर्पाले बताए ।











प्रतिक्रिया