सर्लाही-४ बाट रास्वपाका उम्मेदवार सिंह विजयी


काठमाडौँ।

प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सर्लाही-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंह विजयी भएका छन् ।

बिहीबार सम्पन्न प्रतिनिभिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उनले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा उनका निकटतम नेपाली कांग्रेस सभापति गगनकुमार थापाले २२ हजार ८ सय ३८ मत प्राप्त गरेका हुन् । रास्वपाका सिंहले यस क्षेत्रमा मतगणनाको प्रारम्भदेखि नै अग्रता कायम गरेका थिए।

सिंह र थापाबीचको मतान्तर १२ हजार ८ सय ५० रहेको छ । यसअघिकाे चुनावमा पनि साेही क्षेत्रमा सिंह स्वतन्त्र उम्मेदवारका रुपमा विजयी भएका थिए । सिंह यसअघि नेपाली कांग्रेसबाट दुई पटक र २०७९ मा स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचित भएका थिए। यो पटक नेपाली कांग्रेसले प्रधानमन्त्रीको उम्मेदवार समेत घोषणा गर्दै सभापति थापालाई सर्लाही-४ बाट उठाएको थियो ।

क्षेत्र -४ को नतिजासँगै सर्लाहीको चार वटै निर्वाचन क्षेत्रमा रास्वपाले ‘क्लिनस्वीप’ गरेको छ । नेकपा एमालेका उम्मेदवार अमनिशकुमार यादवले ९ हजार ३ सय ४३, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार रजनिश राय यादवले एक हजार ४ सय १ र जनमतका उम्मेदवार राकेश मिश्राले एक हजार ५ सय ७२ मत प्राप्त गरेको निर्वाचन अधिकृत विनोदप्रसाद घिमिरेले जानकारी दिए ।

१ लाख २१ हजार १२ जना मतदाता रहेका यस क्षेत्रमा ७७ हजार ९ सय ३१ मत खसेको उनकाे भनाइ छ ।