काठमाडौं ।
प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत समानुपातिकतर्फको मतगणनामा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम राखेको छ। प्रत्यक्षतर्फ आक्रामक ढंगले जित हासिल गरिरहेको रास्वपाले समानुपातिकतर्फ पनि १० लाखभन्दा बढी मत प्राप्त गर्दै प्रभावशाली उपस्थिति देखाएको हो। पछिल्लो तथ्याङ्कअनुसार हालसम्म कुल १९ लाख ४५ हजार १५५ मत गणना भइसकेको छ।
यसमध्ये रास्वपाले १० लाख ९ हजार ८२९ मत प्राप्त गर्दै ५० प्रतिशतभन्दा बढी मतसहित पहिलो स्थानमा रहेको छ। त्यस्तै गगनकुमार थापा सभापति रहेको नेपाली कांग्रेसले ३ लाख ३० हजार ५३२ मत प्राप्त गरेको छ, जुन हालसम्म गणना भएको मतको १६.९९ प्रतिशत हो। यसैगरी केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले) ले २ लाख ६३ हजार ४०८ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ।
एमालेले हालसम्म कूल मतको १३.५४ प्रतिशत मत पाएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले १ लाख ९४ हजार ६९८ समानुपातिक मत प्राप्त गरेको छ। उक्त मत कुल गणनाको ५.९२ प्रतिशत रहेको छ, जसले थ्रेसहोल्ड कटाएको छ।
यता राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ७१ हजार ९३७ मत प्राप्त गरेको छ। यो हालसम्म गणना भएको मतको ३.७१ प्रतिशत हो। राप्रपाले पनि थ्रेसहोल्ड कटाउन सफल भएको छ। उता श्रम संस्कृति पार्टीले ४२ हजार १८८ मत प्राप्त गरेको छ। यो कुल मतको २.१७ प्रतिशत भए पनि उक्त दलले आवश्यक थ्रेसहोल्ड भने पार गर्न सकेको छैन।











प्रतिक्रिया