महोत्तरी–२ मा ‘निलो आँधी’: ४४ वर्षे विरासत भत्काउँदै दृष्टि विशेषज्ञ दीपक साह विजयी


काठमाडौं ।

महोत्तरी क्षेत्र नम्बर २ को निर्वाचन परिणामले दशकौंदेखिको पुरानो राजनीतिक विरासतलाई पूर्णविराम लगाइदिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तथा दृष्टि विशेषज्ञ दीपक कुमार साहले भारी मतान्तरसहित विजयी भई मधेसको राजनीतिमा नयाँ मानक स्थापित गरेका छन्।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साहले ३२ हजार ७२० मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी किरण यादवले ९ हजार ९६२ मत प्राप्त गरिन्। साहले यादवलाई २२ हजार ७५८ को विशाल मतान्तरले पराजित गरेका हुन्, जुन साढे तीन गुणा बढी हो। भत्कियो भण्डारीको ‘अजेय’ किल्ला यस निर्वाचनको सबैभन्दा ठूलो उलटफेर पूर्वमन्त्री एवं अनुभवी नेता शरद सिंह भण्डारीको पराजयलाई मानिएको छ।

वि.सं. २०३८ सालदेखि सोही क्षेत्रबाट निरन्तर निर्वाचन लड्दै र जित्दै आएका भण्डारी यसपटक तेस्रो स्थानमा खुम्चिन पुगेका छन्। २१ पटकसम्म मन्त्री बनेर सत्ताको बागडोर सम्हालेका जनता समाजवादी पार्टीका नेता भण्डारीले मात्र ९ हजार ९१६ मत प्राप्त गरे। ४४ वर्षदेखि यस क्षेत्रलाई आफ्नो ‘किल्ला’ मान्दै आएका भण्डारीको पराजयलाई स्थानीयले ‘परिवर्तनको तीव्र चाहना’ का रूपमा व्याख्या गरेका छन्।

विजयी उम्मेदवार दीपक कुमार साह पेशाले दृष्टि विशेषज्ञ हुन्। उनी तीन महिना अघि मात्रै नेपाल दृष्टि विशेषज्ञ संघको केन्द्रीय अध्यक्ष पदमा निर्वाचित भएका थिए। सामाजिक सेवा र स्वास्थ्य क्षेत्रमा सक्रिय साहको आगमनले मधेसका शिक्षित युवा वर्गमा नयाँ उत्साह थपेको छ। चुनाव प्रचारका क्रममा उनले स्वास्थ्य, शिक्षा र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए।

भण्डारी जस्ता दिग्गज नेतालाई भारी मतान्तरले पराजित गरेपछि रास्वपाले मधेस प्रदेशमा आफ्नो दरिलो उपस्थिति जनाएको छ। राजनीतिक विश्लेषकहरूका अनुसार, पुराना दलहरूका आश्वासन र परम्परागत राजनीतिक शैलीबाट वाक्क भएका मतदाताले विकल्पको रूपमा साहलाई रोजेका हुन्।

विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै साहले भने, “यो मेरो मात्र जित होइन, महोत्तरीका आम जनताको परिवर्तनप्रतिको संकल्प हो। मतदाताले ममाथि जुन विश्वास देखाउनुभएको छ, त्यसलाई म आँच आउन दिने छैन।” यो जितसँगै महोत्तरी–२ मा नयाँ राजनीतिक अध्यायको सुरुवात भएको छ भने पुराना शक्तिहरूका लागि यो परिणाम ठूलो धक्का साबित भएको छ।