युद्धपछि पहिलोपटक कतारको आकाश आंशिक खुला, उद्धार र अत्यावश्यक कार्गो उडान मात्र अनुमति

1.5k
Shares

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका कारण एक सातादेखि बन्द रहेको कतारको हवाई क्षेत्र आंशिक रूपमा पुनः सञ्चालनमा ल्याइएको छ। कतारको नागरिक उड्डयन प्राधिकरणले सीमित उडानलाई अनुमति दिँदै उद्धार तथा अत्यावश्यक कार्गो उडानका लागि मात्र हवाई क्षेत्र खोलिएको जनाएको छ ।

कतारको प्रमुख विमानस्थल हमाद इन्टरनेशलन एयरपोर्टले जारी गरेको विज्ञप्तिमा आगामी दिनमा थप उडान सञ्चालन गर्ने विषय सुरक्षा अवस्थाको निरन्तर मूल्यांकनपछि मात्र निर्णय गरिने स्पष्ट पारेको छ ।

प्राधिकरणका अनुसार अहिलेको अवस्थामा यात्रुवाहक व्यावसायिक उडानहरू पूर्ण रूपमा सञ्चालनमा ल्याइएको छैन । प्राथमिकतामा विदेशमा फसेका नागरिकको उद्धार तथा अत्यावश्यक सामग्री ढुवानी गर्ने कार्गो उडानहरूलाई राखिएको छ ।

यसैबीच कतारी अधिकारीहरूले यसै साता इरानबाट सम्भावित आक्रमणको प्रयास भएको दाबी गरेका छन्। कतारको रक्षा मन्त्रालयका अनुसार शुक्रबार मात्र नौ वटा ड्रोन अवरोध इन्टरसेप्ट गरिएको थियो।

मन्त्रालयका अनुसार तीमध्ये एक ड्रोन निर्जन क्षेत्रमा खसेको थियो, जसबाट कुनै मानवीय क्षति भएको छैन।

सुरक्षा चुनौतीका कारण मध्यपूर्वका धेरै देशहरूले हवाई क्षेत्र बन्द वा सीमित गरेका बेला कतारले आंशिक रूपमा आकाश खुला गरेको हो। कतारका अधिकारीहरूले सुरक्षा अवस्थालाई निरन्तर निगरानीमा राखिएको र जोखिम कम भएपछि मात्र थप उडान सञ्चालन गरिने बताएका छन्।