मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ विजयी


मनाङ ।

मनाङ प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन्। उनले २,४१५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपाका यशोदा सुवेदी गुरुङले ४५४ मत पाएका छन् भने मङ्गोल नेसनल अर्गनाइजेसनका रामबहादुर गुरुङ (नवीन)ले ९ मत प्राप्त गरेका छन्।

मुख्य निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार मतगणनाको सुरुआतदेखि नै गुरुङले अग्रता कायम गरेका थिए। नार्पाभूमि गाउँपालिकाका पाँच मतदान केन्द्रको मतपेटिका सेनाको हेलिकप्टरमार्फत ल्याइएपछि मतगणना सुरु गरिएको थियो।

मनाङमा कुल ७ हजार मतदातामध्ये २,९२३ मत खसेको थियो। त्यसमध्ये ४५ मत बदर भएका छन्। जिल्लामा ५४.८० प्रतिशत मतदान भएको जिल्ला निर्वाचन अधिकारी जीवन कुँवरले जानकारी दिएका छन्।